उद्योगी र बैंकर्सले समाधान गरे बैंकको ब्याजदर विवाद

146

छिनछिन खबर
काठमाडौं–बैंकको व्याजदरको विषयलाई लिएर बढेको उद्योगी र बैंकर्सबीचको विवाद समाधान भएको छ । उद्योग, व्यवसायी र बैंकर्सबीचको संयुक्त बैठकले दुबै पक्ष रहेको समिति गठन गरेर समस्याको समाधान गर्ने निष्कर्ष निकालेको हो । व्याजदरको विषयमा निजी क्षेत्र नै फुटको अवस्था आएको भन्दै दुवै पक्ष समिति मार्फत छलफल गरेर समाधान निकाल्न सहमत भएका हुन् । सोमबार भएको छलफलमा ब्याजदर र सेवा शुल्क कसरी घटाउने, डकुमेन्टेसनको झन्झटिलो व्यवस्था कसरी अन्त्य गर्ने, केवाइसीलाई कसरी सहज बनाउने र तरलता सहज बनाउन के गर्ने ? भन्ने विषयमा व्यवसायी र बैंकरर्सबीच छलफल भएको थियो ।

छलफलमा महासंघकी अध्यक्ष भवानी राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, व्यवसायीहरु उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, बिजय बैद्य, गोपाल खनाल उपस्थित थिए । त्यस्तै बैंकर्स संघका तर्फबाट अध्यक्ष ज्ञानेन्द्र ढुंगानासहितको टोली सहभागी थियो । बजारमा तरलता बढी भयो भने स्वत ब्याजदर घट्नेमा दुबै पक्ष सहमत भएका छन् । सरकारले खर्च गर्न नसकेका कारण बजारमा तरलता अभाव भएको भन्दै तरलता बढाउने उपायबारे सरकारलाई सुझाब दिने समेत छलफलले निष्कर्ष निकालेको छ ।

व्यवसायीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसम्म पुगेर बैंकको चर्को ब्याजदर विरुद्ध लबिङ गरेका थिए । त्यसको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरेको थियो । ब्याजदर घटाउनका लागि सुरुमै प्रधानमन्त्रीकहाँ गएको भन्दै अर्थमन्त्रीले व्यवसायीहरु उल्टो बाटो हिँडेको टिप्पणी गरेका थिए । व्यवसायीको उक्त कदमबाट निराश बैंकरले उद्योगबाट उत्पादित सामानको मूल्य पनि सरकारले तोक्नु पर्ने धारणा राखेपछि व्यवसायी बाध्य भएर सहमतिमा आएका हुन् ।

Womui
Womui