ससंदीय समितिले निर्णय गर्न नसक्दा मुस्लिम आयोगको अध्यक्षमा अन्सारीलाई नियुक्तिको बाटो खुल्यो

48

छिनछिन खबर
काठमाडौं–संसदीय सुनुवाइ समितिले निर्णय नगर्दा मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मियाँ अन्सारीको नियुक्ति बाटो खुलेको छ । नियमले तोकेको सीमा अवधिभित्र समितिले अन्सारीका विषयमा कुनै निर्णय लिन नसकेपछि उनलाई अध्यक्षमा नियुक्तिको बाटो खुलेको हो ।


संवैधानिक परिषद्ले माघ १० गते अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारीससहितको पत्र समितिमा पठाएको थियो । परिषद्बाट पत्र पाएको ४५ दिनभित्र समितिले सिफारिस नामउपर उजुरी लिने अनुमोदन वा अस्वीकार गरिसक्नु पर्ने नियम छ । परिषद्बाट समितिलाई पत्र प्राप्त भएको शनिबार ४५ दिन पुगेको हो । यो समयावधिभित्र अन्सारीको विषयमा समितिले कुनै निर्णय गर्न नसक्दा उनी स्वतः अनुमोदन हुन पुगेका हुन् ।

समितिले फागुन २१ गते अन्सारीको सुनुवाइ गरेको थियो । सुनुवाइ क्रममा चित्तबुझ्दो जवाफ नदिएको भन्दै अन्सारीलाई अनुमोदन गरिएको थिएन । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीले दुइटा नागरिकता लिएको र तिनमा फरकफरक जन्ममिति भेटिएपछि समितिमा उजुरी परेको थियो । यस विषयमा अन्सारीको जवाफ चित्तबुझ्दो नआएको भन्दै समितिले उनको जन्म मिति र बाबुआमाको नागरिकताको अवस्थाबारे जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालयले जवाफसहितको पत्र समिति सचिवालयमा पठाएको थियो । पत्र आए पनि समितिले त्यसमा कुनै छलफल नचलाई समय गुजार्दा अन्सारी स्वतः अनुमोदन भएका हुन् । समितिका सभापति लक्ष्मण कर्णले समितिले प्रमाण बुझ्दाबुझदै समय गुज्रिएको बताए ।

Womui
Womui