रहेनन् भरतमोहन अधिकारी

54

छिनछिन खबर
काठमाडौं– कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिवार साँझ निधन भएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो । स्वाथ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।


पिता रामचन्द्र र माता पूर्णकुमारीको कोखबाट १९९३ सालमा जन्मिएका भरतमोहनको जन्मथलो महोत्तरी भ्रमरपूरा हो । महोत्तरीमा जन्मिए पनि अधिकारीको स्थायी ठेगाना भने मोरङको विराटनगर–१० बन्यो । पछिल्लो समय उनी ललितपुर सानेपास्थित निजी निवासमै बस्दै आएका थिए । अर्थशास्त्रमा एमए अनि बीएल गरेका अधिकारी ओमकुमारीसँग वैवाहिक सम्बन्धमा बाधिएका थिए । उनका ३ सन्तान (छोरी) छन् ।

अधिकारीले १६ वर्षको उमेरमा अर्थात् २००८ सालमा भारतको बनारस रहँदा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । त्यही उनको औपचारिक राजनीतिक यात्रा थियो । पञ्चायतकालमा करिब ४ वर्ष भूमिगत जीवन बिताएका उनले तीन वर्ष निर्वा्सितसमेत भएका थिए । त्यति नै वर्ष उनले बन्दी जीवन पनि बिताए । पीचडी अध्ययनका लागि तत्कालीन सोभियत संघको लुबुम्बा विश्वविद्यालय मस्कोमा उनले छात्रवृत्ति पाएका थिए । तर, त्यसबेलाका राजा महेन्द्रले ०१७ सालमा नेपालमा संसदीय व्यवस्थामाथि लगाम लगाएपछि उनी पीचडी त्यागेर राजनीतिमा होमिए ।

अधिकारीले पहिलो पटक अर्थमन्त्री बनेका बेलामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ जस्ता जनताकेन्द्रित कार्यक्रम ल्याएका थिए । अधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका बेला वृद्धभत्ता ल्याएका थिए, जुन जनस्तरमा निकै लोकप्रिय रह्यो । अधिकारीले सुरु गरेको सामाजिक सुरक्षाभत्ता कार्यक्रमले ७५ वर्ष पुगेका वृद्धवृद्धालाई एक सय रुपैयाँ भत्ता दिने व्यवस्था गरेको थियो ।

तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता अधिकारी २०४७ सालमा जारी नेपाल अधिराज्यको संविधान २०४७ को संविधान सुझाव आयोगका सदस्यसमेत थिए । यस्तै नेपालको संविधान २०७२ को संविधानसभाको मस्यौदा लेखन समितिमा रहेर काम गरेका थिए । २०५१ सालमा बनेको मनमोहन अधिकारीको नौमहिने अल्पमतको सरकारमा पहिलो पटक अर्थमन्त्री बनेका अधिकारीले त्यसबेला ल्याएका लोकप्रिय कार्यक्रम अझै जनतामाझ उत्तिकै लोकप्रिय छ । दुई पटक उपप्रधानसहित चार पटक अर्थमन्त्री बनेका अधिकारीले २०६१ र २०६८ मा उपप्रधान तथा अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए । उनले ०५६ सालमा पनि अर्थमन्त्रीको कार्यभार सम्हालेका थिए ।

पहिलो पटक ०६१ सालमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका बेला उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरे । महिला सशक्तीकरणको विषय पनि उनकै पालामा मूर्त लिएको थियो । ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान उनकै पालामा चलाइएको थियो । अधिकारीले अघि सारेको अर्काे महत्वपूर्ण कार्यक्रम थियो ‘नौ स’। यो कार्यक्रमबाटै देशमा लोककल्याणकारीदेखि पूर्वाधार निर्माणका कार्य अघि बढेको थियो ।

अधिकारीले २०७१ साल असारमा काठमाडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट नेतृत्वदायी भूमिकामा नरहने घोषणा गरेका थिए । करिब साढे ६ दशक नेपाली राजनीतिमा सक्रिय अधिकारी नेकपा एमालेका तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित भई प्रतिनिधिसभा सदस्य रहेका थिए भने २०७० सालमा ललितपुरबाट समानुपातिक प्रक्रियाबाट संविधानसभा सदस्य बनेका थिए ।
लामो समयदेखि स्वासप्रश्वास र आमाशयसम्बन्धी रोगबाट ग्रसित अधिकारीको २०७३ सालमा थाइल्यान्डको बैंककमा सोही रोगको उपचार भएको थियो । गत वर्ष पनि अधिकारी अस्वस्थ भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भएको थियो । उक्त समयमा उनको आमाशयको शल्यक्रिया भएको थियो । उनका नेपालको औद्योगिकीकरणको समस्या, मेरो जीवन यात्रा भाग १ र २ लगायत पुस्तक प्रकाशित छन् ।

Womui
Womui