हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने तयारी पुरा

192

बाँके(राप्तीसोनारी), फागुन १२-
राप्तीसोनारी गाउँपालिकामा हात्तीपाईले रोग निवारण अभियानको तयारी पुरा भएको छ । यही फागुन १५ गतेदेखी राप्तीसोनारी गाउँपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाईदैछ । गाउँपालिकाको वडा नम्बर १ देखी ९ सम्मका ५९ हजार जना अर्थात ६४ प्रतिशतलाई यस पटक हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन लागिएको छ । राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीका अनुसार उक्त अभियानका लागि दैनिक ४३ जना स्वास्थ्यकर्मी तथा १ सय १० जना महिला स्वास्थ्य स्वयं सेविका खटिनेछन् । उक्त गाउँपालिकामा ६ वटा स्वास्थ्य चौकी छन् ।

गाउँपालिकाको विभिन्न वडामा स्थापना भएका बुथमा औषधी खुवाउने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख चुडालीले बताए । ‘सबै बुथमा औषधी पुग्ने गरी औषधी प्याक गरेर पठाईसकेका छौं, हाम्रो तयारी लगभग पुरा भईसकेको छ,’ उनले भने । यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाउने कार्यक्रम रहेको बताए । सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यसअघि ८ औं पटक हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइएको थियो ।

रोग नियन्त्रणमा नआउँदा हरेक वर्ष सरकारले औषधी खुवाउने गरेको हो । पहिलो दिन फागुन १५ गते प्रत्येक बुथमा औषधी खुवाईसकेपछि भोलीपल्टबाट छुटेका ब्यक्तिलाई घर–घरमा पुगेर औषधी खुवाइने स्वास्थ्य शाखा प्रमुख चुडालीले जानकारी दिए । ‘एक जना स्वास्थ्यकर्मीलाई ५० घरको जिम्मा दिईन्छ, औषधी खुवाउने कार्यक्रम पाँच दिनसम्म चलाईन्छ,’ उनले भने । औषधी खुवाउन वडास्तरका जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधीले पनि सहजीकरण गर्ने भएका छन् । गाउँपालिकाले यसअघि हात्तीपाईले रोग निवारण कार्यक्रमका लागि वडा र गाउँपालिका स्तरमा अन्तरक्रिया, अभिमुखीकरण लगायतका कार्यक्रम गरिसकेको छ ।

Womui
Womui