एनसेल बम काण्डमा विप्लवको हातः गृहमन्त्री

93

छिनछिन खबर
काठमाडौं,फागुन १२ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् ।

आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा एनसेलको टावरमाथि आक्रमण भएको बताए । ‘२०–२१ जिल्लामा टावरमाथि आक्रमण भएका छन् ,’ उनले भने ।नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, विप्लव जस्ता सरकार र सत्ता विरोधी तत्व र सामाजिक आपराधिक तत्वहरु रहेको बताए ।

गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए । ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने ।आजको बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो ।बैठकमा गृहमन्त्री थापासहित सचिव प्रेम कुमार राई उपस्थिति थिए ।तर, काँग्रेस सांसद देवेन्द्र राज कँडेलले शुरुवातमा नै एनसेल बम काण्डबारे गृहमन्त्रीले जानकारी गराउन पर्ने माग गरेका थिए ।गृहमन्त्रीले यसबारे बैठकको अन्त्यमा जानकारी गराउने भनेपछि काँग्रेसका तीन सांसदले बैठक नै बहिस्कार गरेका थिए ।

Womui
Womui