‘समृद्ध राप्तीसोनारी’ बुलेटिन विमोचन : ‘राप्तीसोनारी गाउँपालिकालाई समृद्ध गराउन सबैको साझा प्रयास’

67

बाँके (अगैया), फागुन ८-
राप्तीसोनारी गाउँपालिकाले पहिलो पटक प्रकाशन गरेको ‘समृद्ध राप्तीसोनारी’ बुधबार बुलेटिन विमोचन गरिएको छ । गाउँपालिकामा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् पुर्वमन्त्री प्रेमबहादुर भण्डारी, गाउँपालिका अध्यक्ष लाहुराम थारु, विशिष्ट अतिथी तथा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाध्यक्ष मदन ओली, वडा नम्बर ३ का गंगाराम थारु, वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारु, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोतम शर्मा लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री भण्डारीले राप्ती सोनारी गाउँपालिकालाई समृद्ध गराउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । यहाँको समृद्धिका लागि बुलेटिन ऐना बन्ने उनको अपेक्षा छ । उनले भने, ‘राप्तीसोनारीको भौगोलिक अवस्था हेर्दा एकदमै कठिन छ, तर प्रकृतीका हिसाबले धेरै धनी छ, गाउँपालिकालाई समृद्ध बनाउनको लागि सबै एक भएर लाग्नुपर्छ ।’ बुलेटिनले सामुहिक रुपमा भएका सकारात्मक कामलाई समेट्ने विश्वास गरे । राप्तीसोनारी, प्राकृतिक, धार्मिक र साँस्कृतिक रुपले धनी रहेको उनले जोड दिए । ‘राप्तीसोनारीमा उपलब्ध स्रोत साधनको प्रयोग र यहाँको रमणीय कुरा देखाउन पर्यटकलाई ल्याउन सकियो भने यो गाउँपालिका वास्तवमै समृद्ध बन्नेछ,’ उनले भने ।

कार्यक्रमका सभापति एवम् गाउँपालिका अध्यक्ष थारुले कसैको एक्लो प्रयासले मात्रै गाउँपालिका समृद्ध बनाउन नसकिने बताए । आफुहरु निर्वाचित भएर आएपछि धेरै राम्रा काम भएपनि प्रचार गर्न नसकिएको स्वीकार गर्दै समृद्ध राप्ती सोनारी बुलेटिनमार्फत जनताले अब थाहा पाउने विश्वास गरे । उनले भने, ‘हामीले धेरै नयाँ–नयाँ कामको सुरुवात गरेका छौं, जुन कुराहरु यो बुलेटिनमा समेटिएका छन्, तर कतिपय कुरा समेट्न नसकिएका पनि छन्, ती कुरालाई आगामी दिनमा बाहिर ल्याउनेछौं ।’ गाउँपालिकाको विकाससँगै चेतनाको पनि विकास हुनुपर्नेमा जोड दिए । शिक्षामा सुधार नल्याउँदा सम्म चेतनाको स्तर माथी उठ्न नसक्ने भन्दै यसका लागि गाउँपालिकाले शिक्षमा विशेष पहल गरिरहेको बताए ।

उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारीको विकासका लागि आफुहरुले अझै धेरै काम गर्न बाँकी रहेको बताईन् । ‘जनताले हामीलाई जिताएर पठाए, दुई वर्षअघि हामी चुनाव लड्दा भोट माग्न जाँदा बाटो नभएको ठाउँमा अहिले गाडी चल्न थालेका छन्, जनप्रतिनिधी आएपछि केही न केही परिवर्तन पक्कै भएको छ,’ उनले भनिन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली, वडा नम्बर ३ का अध्यक्ष गंगाराम थारु, वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोतम शर्मा लगायतले शुभकामना मन्तब्यसहित राप्तीसोनारीलाई समृद्ध बनाउन बुलेटिनले प्रभावकारी बन्ने भनाई राखे ।

सो क्रममा राप्तीसोनारी गाउँपालिकाका प्रेस सल्लाहकार एवम् ‘समृद्ध राप्तीसोनारी बुलेटिन’ का प्रधान सम्पादक अर्जुन ओलीले बुलेटिनको आवश्यकता, यसको महत्व र समेटिएका सामाग्रीबारे प्रष्ट्याएका थिए । गाउँपालिकाको समृद्धिका लागि बुलेटिन निकै उपयोगी बन्ने उनको भनाई थियो । ‘जनप्रतिनिधीले जति काम गरेपनि कागजमा अभिलेख नराख्दा सम्म र जनतालाई सु–सुचित नगर्दासम्म त्यसको मुल्यांकन हुदैन, त्यसले यो बुलेटिनले सबै कुरालाई समेट्ने काम गरेको छ,’ उनले भने । स्थानीय हाइवे पोष्ट दैनिकसँगको सहकार्यमा गाउँपालिकाले पहिलो पटक रंगिनमा प्रकाशन गरेको उक्त बुलेटिन ४० पृष्ठमा रहेको छ ।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै हाइवे पोष्ट दैनिकका प्रकाशक/सम्पादक एवम् बुलेटिनका सम्पादक खड्क खत्रीले राप्तीसोनारी गाउँपालिका क्षेत्र सदरमुकाम नेपालगन्जबाट टाढा रहँदा सञ्चार माध्यमको पहुँच पुग्न नसकेको बताउँदै आफुले विभिन्न चुनौतीका बीच पनि ग्रामिण स्तरमा पत्रिका प्रकाशन गर्दै आएको धारणा राखे । समृद्ध राप्तीसोनारी बुलेटिन प्रकाशनका लागि सहकार्य गरेर यहाँको विविध विषयलाई चित्रण गरिएको उनको भनाई छ ।

उक्त कार्यक्रम सञ्चालन सन्तोष चौधरीले गरेका थिए । विमोचन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी, समाजसेवी, बुद्धिजिवी, किसान, अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त बुलेटिनमा गाउँपालिकाको समग्र विकास निर्माण, जनप्रतिनिधी आएपछि भएका उपलब्धी मुलक काम, राप्तीसोनारीको धार्मिक, सँस्कृतिक, पर्यटन, आर्थिक अवस्था, न्यायिक गतिविधी, शिक्षा, स्वास्थ्य, कृषि लगायत विषयमा तयार पारिएको फिचर, अन्र्तवार्ता लगायत सामाग्रीलाई समेटिएको छ ।

Womui
Womui