प्रदेश पाँचको राजधानी टुंगो लगाउन सुझाव संकलन

443

बुटवल–अब तपाईंलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि सुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर्मचारीलगायतलाई ती प्रश्न गरेर विशेष समितिले प्रतिवेदन तयार गर्दैछ । प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले नामाकरण सम्बन्धमा तीन र स्थायी राजधानी सम्बन्धमा आठ प्रश्नावली निर्माण गरेर प्रदेशभरका विभिन्न जिल्लाबाट सुझाव सङ्कलन गरिने समितिका संयोजक दीपेन्द्र पुनले जानकारी दिए ।

’विभिन्न ठाउँबाट आएका सुझावलाई एकीकृत गरी मौसमविद्, भौगर्भिकविद्, सुरक्षाविद्लगायतसँग समेत छलफल गर्ने छौं, उनले भने । संयोजक पुनले सुझाव सङ्कलन कार्य १८ गतेसम्म जारी रहने जानकारी दिँदै सांस्कृतिक पहिचानको आधारलाई पनि प्रश्नावलीमा समावेश गरिने बताए । संयोजक पुन रोल्पा जिल्लाबाट प्रदेश नं ५ को प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।

१२ जिल्लाका लागि सुझाव सङ्कलन गर्न छ समूह निर्माण भएको बताइएको छ । प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका सदस्य विष्णु पन्थीले राजधानी तथा नामाकरणको विषय सामान्य भएको उल्लेख गर्दै जनताभन्दा पनि बढी नेताको अनुकूलताको विषय बन्न खोजेको बताए । उनले भने, ’राजधानी हुने बित्तिकै सबै हुन्छ वा राजधानी नहुने बित्तिकै सबै गुम्छ भन्ने मनोविज्ञान गलत हो ।’

प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिका सदस्य तुल्सी चौधरीले नामाकरण तथा स्थायी राजधानीको विषय राजनीतिक दल र प्रदेशसभामा गहन छलफल नभएको उल्लेख गर्दै केही अपवादबाहेक प्रदेशसभा र विभिन्न समितिको बैठकमा सहमतिको साथ अघि बढिएको बताइन् । उनले स्थायी राजधानी र नामाकरणको विषय यस क्षेत्रको आम सरोकारको विषय भएकाले फरकफरक विचार र दृष्टिकोण आउनु स्वभाविक भएको बताइन् । प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानी तोक्न सिफारिस विशेष समितिले चार महिनाको अवधिमा मात्रै संयोजक तोकेको थियो। तीन महिनाको अवधिमा प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन तयार गर्ने भनिए पनि समयावधि समाप्त भएपछि पुनः मङ्सिरको अन्तयताका प्रदेशसभाबाट विशेष समितिको म्याद थप भएको थियो । विशेष समितिमा १५ प्रदेशसभाका सदस्य छन ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेशसभाले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नामाकरण गर्ने संवैधानिक व्यवस्था छ । पछिल्लो समय प्रदेश नं ५ को नामाकरण र स्थायी राजधानीको विषय पेचिलो हुँदै गएको छ । रासस

Womui
Womui