महिला विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

63

छिनछिन खबर
काठमाडौं– महिला विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मंगलबार थाइल्याण्डमा भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो । नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ९२ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि ओपनर तथा कप्तान विनिफ्रेड दुराइसिंघमले १८ रन र क्रिस्टिना बारेटले २१ रन जोडे । अन्य खेलाडी सस्तैमा आउट भए ।

नेपालकी सरिता मगर र करुणा भण्डारीले २–२ विकेट लिए । त्यस्तै सीता रानामगर र कविता कुँवरले १–१ विकेट झारे । टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४२ रन जोडिन् । सीताले ४० बलमा २ चौका प्रहार गरिन् । सीता र अर्की ओपनर काजल श्रेष्ठले पहिलो विकेटका लागि ४६ रन जोडेका थिए । कप्तान रुबिना क्षेत्री ३३ रनमा अविजित रहिन् । उनले २५ बल खेल्दा ३ चौका प्रहार गरिन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडे ।

नेपालले मलेशियापछि दोस्रो खेल आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ प्रतिस्पर्धामा छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेता टोली आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

Womui
Womui