भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

41

छिनछिन खबर
काठमाडौं– हिरो वुमेन्स गोल्डकपमा आयोजक भारलाई नेपालले २–१ गोलले हराएको छ । नेपालका लागि दुई वटै गोल सावित्रा भण्डारीले गरेकी हु्न । सावित्राले खेलको सुरुवातमै गरेका दुई गोल नै नेपाललाई भारतविरुद्ध ऐतिहासिक जित निकाल्न पर्याप्त भयो । भारतको उडिसास्थित कालिंगा रंगशालामा पाँचौं मिनेटमा सावित्राको गोलमार्फत नेपालले अग्रता लिएको थियो । हिराकुमारी भुुजेलको पासलाई सदुपयोग गरेकी सावित्राले दुई मिनेट लगत्तै टोलीको अग्रता दोब्बर पारेकी थिइन् । सातौं मिनेटमा मनमाया लिम्बूको क्रसमा सावित्राले दोस्रो गोल गरेकी थिइन् ।


पहिलो हाफमा २–० ले पछि परेको भारतले ८४ औं मिनेटमा रत्नवाला देबीको गोलमार्फत पुनरागमनको प्रयास गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा बाँकी समय आयोजक भारतले गोल गर्न नसक्दा नेपाल भारतबिरुद्ध पहिलो जित दर्ता गर्न सफल भयो । यसअघि नेपालको सिनियर टोलीले भारतबिरुद्ध कुनै जित दर्ता गरेको थिएन । कात्तिकमा भएको ओलम्पीक छनोटमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको थियो । नेपालले अब हिरो गोल्डकपमा अन्तिम खेल फागुन १ गते इरानसँग खेल्नेछ ।

पाचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागी नेपाल पहिलो खेलमा म्यानमारसँग ३–० को गोलअन्तरले पराजित भएको थियो । साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन् ।

Womui
Womui