नेकपामा नाममै विवाद, सर्वोच्चले टुंग्याउनु पर्ने

34

छिनछिन खबर
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीको नाम विवाद सुरु भएको छ । नेकपाको नाममा विवाद झिक्दै नेकपाविरुद्ध ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गरेपछि विवाद सुरु भएको हो । कट्टेलले मंसिर २१ गते सर्वोच्चमा निर्वाचन आयोग र नेकपालाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको नाम जुधेको भन्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । तर, आयोगले कात्तिक ९ गते नेकपाको पक्षमा फैसला सुनाएको थियो ।


आयोगको निर्णयलाई चुनौती दिंदै कट्टेल सर्वोच्च पुगेका हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच जेठ ३ गते एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टीको नाममा विवाद सुरु भएको थियो । कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सत्तारुढ दल नेकपाले विधानविपरीत आफ्नो पार्टीको पहिचान नै अन्त्य हुनेगरी नामकरण गरेर नाम राखेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी कोष्टभित्रको नेकपा आफूहरूको नेकपाभन्दा फरक दल भएको दाबी उनीहरुको छ ।

कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दलीय परम्परा तथा संसदीय परम्पराविपरीत आफूहरूको पहिचानलाई संकटमा पार्ने गरी नामकरण गरिएकाले कोष्ट भित्रको नेकपाको नाम संवैधानिक रूपमा त्रुटिपूर्ण रहेको दाबी गरिएको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी पहिल्यै दर्ता भएको र त्यसको अध्यक्ष आफू भएको कुरा कानुनसम्मत रहेको जिकीर कट्टेलले रिटमा गरेका छन् । कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि अन्डरलाइन राखेको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय कोष्टभित्र नेकपा राखेर भिन्न दलको रूपमा निर्वाचन आयोगबाट दल दर्ताको स्वीकृति लिएको थियो । अब अदालतले गर्ने निर्णयमा नेकपाको नामको टुंगो लाग्नेछ ।

Womui
Womui