आगजनी घटनाको गम्भिर अनुसन्धान गर्न पत्रकारको दवाव

90

नेपालगन्ज, मंसिर १२-
पत्रकार अर्जुन ओलीको मोटरसाईकलमा आगजनी गर्ने समुहको चाडो पहिचान गरी कारबाही गर्न बाँकेका पत्रकारहरुले प्रहरीलाई दवाव दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित आफ्नै घरमा पार्किङ गरेर राखिएको भे२प ८९१८ नम्बरको एमाहा कम्पनीको मोटरसाईकलमा अज्ञात समुहले सोमबार मध्यराती आगजनी गरिदिएको थियो । आगजनीबाट मोटरसाईकलको करिव आधा भाग जलेको छ । आगजनीको घटना समयमै थाहा पाएका कारण घरमा ठुलो जनधनको क्षति हुन पाएन ।

पत्रकारको एक टोलीले बुधबार जिल्ला प्रहरी कार्यालयमै पुगेर निमित्त प्रहरी प्रमुख(डिएसपी) राजेन्द्र अर्याललाई दवाव दिएको हो । नागरिक दैनिकमा कार्यरत पत्रकार ओलीलाई डर, त्रास देखाउन र ज्यानै लिने उद्देश्यले योजनावद्ध तरिकाले घटना गराएकाले यसलाई गम्भिर ढंगले हेरिदिन पत्रकारको टोलीले प्रहरीलाई आग्रह गरेको छ । मध्यरातमा पत्रकारलाई लक्षित गरी च्यानल गेटभित्र ताला लगाएर पार्किङ गरिएको मोटरसाईकलमा आगजनी गर्नु नियोजित घटना भएको पत्रकारहरुको बुझाई छ । पत्रकारलाई शान्ति सुरक्षाको पूर्ण रुपले प्रत्याभुति दिलाउन प्रहरीलाई अनुरोध पनि गरिएको छ ।

पत्रकारका विभिन्न संगठन र सञ्चार संस्थाको प्रतिनिधित्व गर्दै पुगेको उक्त टोलीले आगजनीको घटनामा अनुसन्धानको दायरा फराकिलो पार्न र ओलीले एक÷डेढ महिनायता प्रकाशित गरेका समाचारलाई पनि केलाउन सुझाव दिएको छ । पत्रकार महासंघका प्रदेश सचिव शुक्रऋषि चौलागाईले घटनालाई गम्भिर रुपले लिएर अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे । ‘घटनाको प्रकृती हेर्दा योजनावद्ध तरिकाले गरिएको छ, यसलाई प्रहरीले गम्भिर रुपले अनुसन्धान गरी संलग्नको पहिचान गरोस्,’ उनले भने । प्रहरीले दोषीलाई पत्ता नलगाउँदा सम्म दवाव दिइरहने बताए । पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले यस घटनाले बाँकेका समग्र पत्रकारको सुरक्षामाथी प्रश्न उठेको बताए । ‘यो पत्रकारमाथीको सिंगो आक्रमण हो, यसलाई प्रहरीले सामान्य रुपमा लिने काम नगरोस्,’ उनले भने । सो क्रममा निमित्त प्रहरी प्रमुख(डिएसपी) अर्यालले घटनाको गम्भिर ढंगले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको र प्रहरी टोली परिचालित भएर अनुसन्धान गरिरहेको बताए । ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ, अझैपनि अनुसन्धानको दायरालाई फराकिलो बनाएर दोषीलाई पत्ता लगाउँछौं,’ उनले भने ।

टोलीमा पत्रकार महासंघका प्रदेश महासचिव भेषराज बस्नेत, सचिव शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धिताल, पीडित पत्रकार अर्जुन ओली, प्रेस युनियनका कोषाध्यक्ष माधव अधिकारी, प्रेस चौतारीका सचिव कमल डाँगी, नागरिक पश्चिमेलीका स्थानीय सम्पादक कमल खत्री, रेडियो सद्भावका स्टेशन म्यानेजर नविन गिरी, सद्भाव दैनिकका कार्यकारी सम्पादक कमल न्यौपाने, पत्रकारहरु भगतराम थारु, रबिन्द्रसिंह ठकुरी, दिपेन्द्र धिताल लगायत उपस्थित भएका थिए । यसअघि मंगलबार पनि उक्त घटनाको भत्र्सना गर्दै पत्रकार महासंघ लगायत पत्रकारका विभिन्न संघ, संगठनले दोषीलाई पहिचान गरी कारबाही गर्न माग गरेका थिए ।

 

Womui
Womui