विकासको गति तीव्र बनाइन्छःप्रम ओली

119

छिनछिन खबर
काठमाडौं,मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताएका छन् । सरकारले गठन गरेको मानव शंसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘विकासलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने सरकारलाई जानकारी छ’ प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुनेगरी देखाउछौं ।’प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको पनि बताए ।‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने,‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा बर्षौंसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्गदर्शन गर्नुपर्दछ ।’प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिएका छन् ।

‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’ उनले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटीरहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिए ।‘अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनवद्ध रुपमा काम गर्नुहोस । प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ’ प्रधानमन्त्री ओलीले निर्देशन दिए ।सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ भनेर तथ्यगत अध्ययन गर्न गत असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरुमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजय दत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज छन् ।कार्यदलको निर्देशक समितिमा शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

Womui
Womui