त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर नतिजा सुधार, वार्षिक कमजोर

111

छिनछिन खबर
काठमाडौं, मंसिर ९ । त्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको छ । वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण नतिजा १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको हो ।


वार्षिक प्रणालीमा सबैभन्दा कमजोर नतिजा शिक्षाशास्त्र संकायको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार बिएस्सी, बिबिएस, बिएड र बिएमध्ये सबैभन्दा कमजोर नतिजा बिएडको छ । सेमेस्टर प्रणालीमा पनि तुलनात्मक रूपमा शिक्षाशास्त्र संकायकै नतिजा कमजोर छ । त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गरेको स्नातकोत्तर तहको पाँच संकाय र चार अध्ययन संस्थानमध्ये शिक्षाशास्त्रको नतिजा कमजोर देखिएको हो । सो संकायमा पहिलो र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको उत्तीर्ण प्रतिशत ४५ प्रतिशतको हाराहारी मात्रै छ । ‘एमएड पहिलो र दोस्रो सेमेस्टरमा उत्तीर्ण प्रतिशत ५० प्रतिशतभन्दा कम छ,’ शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले भने, ‘तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दामाथि छ ।’ विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले ०७२ देखि त्रिविका केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहबाट सेमेस्टर प्रणाली सुरु भएको हो ।

सेमेस्टरमा मानविकीमा ९० प्रतिशतसम्म उत्तीर्ण
सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएको मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले बताए । केही विषयमा शतप्रतिशत पनि उत्तीर्ण भएको उनको भनाइ छ । व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले स्नातकोत्तरमा औसत उत्तीर्ण ७५ प्रतिशत रहेको बताए । नियमित हाजिर हुनुपर्ने र थोरै विद्यार्थीले अध्ययनको मौका पाउने भएकाले नतिजा पहिलेभन्दा राम्रो भएको उनीहरू बताउँछन् । प्रा.डा. विद्यानाथ कोइराला वार्षिक प्रणालीमा शुल्क कम भएकाले भर्ना भएर पनि पढ्न नआउने धेरै हुने बतउँछन् । त्यसैले कसरी पढ्ने र परीक्षामा कस्तो प्रश्न आउँछ भन्ने जानकारी हुँदैन । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि कक्षामा नियमित उपस्थित नहुने विद्यार्थीको नतिजा राम्रो नभएको देखाएको छ । सेमेस्टरमा नियमित हुनुपर्ने, धेरै शुल्क तिर्नुपर्ने, शिक्षकको समेत सपोर्ट रहने र परीक्षामा आउने प्रश्नको ‘प्याट्रन’ पनि थाहा हुने भएकाले नतिजा राम्रो भएको उनको भनाइ छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार २०७४ को परीक्षामा तीनवर्षे बिएडको नतिजा औसत २२.४२ प्रतिशत छ । २०७३ को भन्दा प्रतिशतमा यो नतिजा सुधारिएको देखिए पनि सन्तोषजनक हैन । २०७३ मा तीनवर्षे बिएडमा १७.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । पनिकाका अनुसार २०७२ मा बिएडको समग्र उत्तीर्ण प्रतिशत १५.०४ थियो । चारवर्षे बिएडमा समेत १६.७८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । चारवर्षे बिएडको पहिलो र दोस्रो वर्षको मात्र नतिजा सार्वजनिक भएको छ । वार्षिक प्रणालीमा पढाइ हुने चारवर्षे बिबिएसमा ०७४ को उत्तीर्ण प्रतिशत ३०.७१ प्रतिशत पुगेको छ । तीनवर्षे बिबिएसमा ०७३ मा २४.३६ प्रतिशत उत्तीर्ण भएका थिए ।

यता त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा बिएस्सीको नतिजा कमजोर आएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०.५८ मात्रै रह्यो । सोही वर्ष बिएमा ४४.५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ । २०७३ मा विज्ञानका विद्यार्थीको उत्तीर्ण प्रतिशत ३५.९९ रहँदा मानविकीमा ३९.५५ प्रतिशत उत्तीर्ण भए । मानविकीमा उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । ०७२ मा ३२.८ प्रतिशत उत्तीर्ण भएकामा ०७४ सम्म बढ्दै गएर ४४.५५ प्रतिशत पुगेको हो ।

इन्जिनियरिङमा सम्बन्धनप्राप्त भन्दा आंगिकको नतिजा राम्रो
इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा. त्रिरत्न मानन्धरले अहिले औसत नतिजा ७५ प्रतिशत रहेको बताए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको ९९ प्रतिशत उत्तीर्ण रहेको बताए । डिन मानन्धरका अनुसार सम्बन्धनप्राप्त क्याम्पसको नतिजा ६० प्रतिशतको हारहारीमा छ । ‘केही सम्बन्धनप्राप्त कलेजको उत्तीर्ण २० देखि ३० प्रतिशतसम्म पनि हुने गरेको छ,’ उनले भने ।

Womui
Womui