सबै स्थानीय तहमा ऊर्जा उत्पादन, तपाईको गाउँमा कुन सम्भावना ?

262

प्रशिद्धिका खड्का
काठमाडौं, कात्तिक ३०। देशमा ऊर्जा संकट चुलिँदो रहेको बेला अब प्रत्येक स्थानीय तहमा ऊर्जा उत्पादन गरिने भएको छ । स्थानीय तहमा कम्तीमा एक ऊर्जा उत्पादन हुने गरी राष्ट्रिय योजना आयोगले योजना तयार पारेको छ । आयोगका अनुसार जलविद्युत्, सौर्य, हावा तथा बायोमासमध्ये जसको स्थानीय तहमा सम्भावना हुन्छ, त्यसैको माध्यमबाट ऊर्जा उत्पादन गर्ने योजना बनाइएको छ ।
अबको ५ वर्षभित्र सात सय ५३ वटा स्थानीय तहमा कम्तीमा कुनै एकको माध्यमबाट ऊर्जा उत्पादन गर्ने योजना बनाइएको छ । आयोगका पूर्व सदस्य अरविन्दकुमार मिश्रको नेतृत्वमा गठन गरिएको टोलीले स्थानीय तहमा सबभन्दा बढी सौर्य ऊर्जा उत्पादनको सम्भावना देखाएको छ ।


स्थानीय तहमध्ये चार सय ८१ तहमा सौर्य ऊर्जा उत्पादन, दुई सय २१ तहमा जलविद्युत्, ५० वटामा बायोमास र एउटा स्थानीय तहमा हावाबाट ऊर्जा निकाल्ने सम्भावना रहेको आयोगको अध्ययनबाट देखिएको छ । सरकारले आर्थिक, भौतिक लगायतका योजना तय गर्दा आयोगले सिफारिस र सल्लाह तथा सुझावलाई ध्यान दिने गरिन्छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा कम्तीमा एउटा ऊर्जा प्लान्ट स्थापना गर्नुपर्ने बाहेक केन्द्र र प्रदेश सरकार तथा निजी क्षेत्रले पनि ऊर्जा उत्पादनमा काम गर्न सक्नेछन् । गहकिलो अध्ययनपछि आयोगले बनाएको योजना सबै स्थानीय तहलाई कार्यान्वयन गर्न÷गराउन सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने आयोगका पदाधिकारीले अपेक्षा गरेका छन् । पाँच वर्षभित्र प्रत्येक स्थानीय सरकारले कम्तीमा एक मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सक्ने क्षमता रहेको अध्ययनले देखाएको छ ।

चार सय ८१ स्थानीय तहमा उत्पादन हुने सौर्य ऊर्जा एक मेगावाट क्षमता बढीका हुने देखिएको छ । त्यस्तै दुई सय २१ स्थानीय तहमा उत्पादन हुने जलविद्युत्बाट एक सय ९२ मेगावाट ऊर्जा उत्पादन हुनाको साथै बायोमासबाट २० मेगावाट र हावाबाट दुई सय किलोवाट ऊर्जा उत्पादन हुने अध्ययनबाट देखिएको छ । सबै स्थानीय तहमा ऊर्जा उत्पादनका लागि पाँच वर्षमा एक खर्ब ३८ अर्ब रुपैयाँ लागत लाग्ने अध्ययनबाट देखिएको छ । स्थानीय तहका ऊर्जा उत्पादनबाहेक केन्द्रीय प्रसारणबाट पाँच वर्षभित्र सबै स्थानीय तहमा विद्युत् विस्तार गर्ने योजना समेत आयोगले बनाएको छ ।

Womui
Womui