कंगोमा फैलियो इबोला महामारी, ज्यान गुमाउनेको संख्या २०० नाघ्यो

389

एजेन्सी– अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या २०० नाघेको छ । कंगोका स्वास्थ्य अधिकारीका अनुसार देशमा फैलिएको इबोलामा महामारी अहिले थप जोखिमयुक्त बन्दै गएको छ । उत्तरी किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ । ज्यान गुमाउनेमा आधा भन्दा बढी यहि शहरका छन् । यो शहरमा ८ लाख मानिसको बसोबास रहेको छ । इबोलाविरुद्धको खोप कार्यक्रम अन्तर्गत अहिलेसम्म झण्डै २५ हजारलाई खोप लगाइएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


इबोलाविरुद्ध जुटेका स्वास्थ्यकर्मीलाई सशस्त्र बिद्रोहीले अवरोध गरिरहेका छन् । गएको सेप्टेम्बरमा बिद्रोहीले आक्रमण गरेपछि बेनीमा खोप कार्यक्रम तत्कालका लागि रोकिएको थियो । वर्षौँदेखि गृहयुद्ध तथा राजनीतिक अस्थिरताका कारण समस्यामा रहेको कंगोमा त्यसको प्रभाव खोप कार्यक्रममा पनि परेको हो । पछिल्लो पटक गएको जुलाईमा इबोलाको महामारी सुरु भएको छ । यो कंगोमा सन् १९७६ यता फैलिएको १० औँ इबोला महामारी हो । पछिल्लो महामारीका कारण अहिलेसम्म २०१ जनाको ज्यान गएको पुष्टि भएका छ । यस्तै २९१ जनामा इबोला संक्रमण पुष्टि भएको कंगोको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा पसिना, यौन सम्बन्ध, वान्ता, स्तनपान, पिसाबका माध्यमबाट इबोला नामक भाइरस सर्ने गर्छ। सुरुमा संक्रमित बाँदर र चमेरोबाट अर्को मानिसमा यो भाइरस सरेको थियो । इबोला संक्रमण भइसकेपछि निको पार्ने औषधि अहिलेसम्म बन्न सकेको छैन । तर यसको संक्रमण भएपछि उपचार भने हुन्छ । इबोला संक्रमण नियन्त्रणका लागि खोप लगाइरहेको भए पनि पूर्ण रूपमा नियन्त्रण हुन नसकेको डब्लुएचओले जनाएको छ ।

Womui
Womui