च्याउ खेतीले बिर्सायो विदेशको दुःख

82

नेपालगन्ज, कात्तिक २४ (रासस) । परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतको गर्मीमा बिताउँदा समेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा पैसा बाँकी रहेन ।खजुरा गाउँपालिका–३ के गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती सुरु गरे । स्वेदश र विदेशमा काम गरेको बराबर समय, उस्तै मिहिनेत । उनलाई स्वदेशमै आम्दानी र सन्तुष्टि मिल्यो । १६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले व्यावसायिक च्याउ खेतीमा रमाएका छन् । उनको लगानी अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ६० हजारबाट तरकारी खेती सुरु गरेका सुनारले २०६९ सालमा टहरा बनाएर १६ हजारको लगानीमा च्याउ खेती सुरु गरेका थिए । सुरुमा १२० पोकाबाट च्याउखेती सुरु गरेका उनले दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । ‘लक्ष्मी बैंकबाट ३५ लाख ऋण लिएँ’, उनले भने, यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।’


विदेशको दुःख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको उनले सुनाए । ‘अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,’ उनी भन्छन् । टहराबाट च्याउखेती सुरु गरेका सुनारले दुई वर्षअघि पक्की संरचना बनाएका छन्। अहिले च्याउ लगाउनका लागि आठ वटा ठूला कोठा निर्माण गरिएको छ । पराल राख्ने, पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ तयार गरिएको छ ।
उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गराएका छन् । च्याउ फर्ममा पाँच जनाले नियमित रोजगारी पाएका छन् भने च्याउको उपयुक्त समयमा २० जनाभन्दा धेरैले काम पाउँछन् । आवश्यकता अनुसार दैनिक कामदार लगाउने गरिएको छ । फर्ममा कन्य च्याउको उत्पादन गरिँदै आएको भएपनि यस वर्षदेखि गोब्रे च्याउको पनि उत्पादन सुरु गर्ने सुनारले बताए । च्याउको सिजन सुरु भइसकेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यसवर्ष बढाउने लक्ष्य लिएका छन् ।

उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । ‘२०७३ सालमा खोर नै सखाप थियो । रु १७ लाखको लगानी खेर गयो तर हिम्मत हारिन, उनले भने ‘साथीभाइको साथले फेरि सुरु गरें ।’ समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले सुनाए । उनले भने, हिजो १०÷१५ हजारका लागि अरूसँग हात जोड्नुपथ्र्यो र आज दुई, चार लाख दिने मान्छे छन् ।’ सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रियस्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका छन् । ‘आफ्नो काममा खुसी र सन्तुष्ट छु’, सुनारले भने ।

Womui
Womui