नीजगढमा ट्याक्सी र जीप ठोक्कियो, ३ को मृत्यु, २ घाइते

46

छिनछिन खबर
सिमरा, कात्तिक २४ । बाराको निजगढमा ट्याक्सी र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा दुई जना घाईते भएका छन् । दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी र सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबै टयाक्सीमा सवार रहेका थिए । आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाइते भएका छन् । घाइतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राती १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएका थिए । निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएका हुन् । ग्रामीण बाटो हुदै राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जीपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए । दुर्घटनापछि बोलेरो जीपका चालक फरार छन् ।

Womui
Womui