मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधर संसारबाट बिदा भए

118

छिनछिन खबर
काठमाडौं, कात्तिक १८ । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । तुलाधरको स्वास्थ्यमा अनेक समस्या रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो,उच्च रक्तचाप, मधुमेहको समस्या, फोक्सोको समस्या, मृगौलाले काम गर्न छोडेपछि उनलाई ५ दिन अघि नर्भिक अस्पताल लगिएको थियोृ ।


तुलाधर भाषा आन्दोलनबाट उदाएका नेता थिए । नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए । तर, उनको परिचय त्यतिमा मात्रै सीमित भएन । चिन्नेहरुले उनलाई मानवअधिकारको आन्दोलन, लोकतन्त्रको आन्दोलन, वाम आन्दोलनका नेता भनेर पनि चिन्छन् । अझ जनजाति आन्दोलन लाग्नेहरुका निम्ति उनी प्रेरणादायी व्यक्ति थिए । पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे ।

०४२ मा तुलाधर तत्कालीन नेकपा(माले)को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए । त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वा्चित भएका थिए । तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए ।तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका पनि खेलेका थिए । सुरुताका एमाले निकट भनेर चिनिने तुलाधरलाई शान्ति प्रक्रियापछि भने माओवादी भनेर चर्चा गर्न थालियो । त्यसो त, द्वन्द्व कालमा उनलाई नै प्रचण्ड हुन् भन्नेहरु पनि थिए । जतिबेला प्रचण्डबारेमा निकै कमलाई मात्रै थाहा थियो । उनका नेपाल भाषामा थुप्रै पुस्तक प्रकाशित छन् ।

Womui
Womui