चाडपर्वमा मदिराको कारोबार बढी, दसैं र तिहारका लागि १ अर्ब ६२ करोडको मदिरा आयात

97

छिनछिन खबर
काठमाडौं, कात्तिक १४ । नेपालीको ठूलो चाड दसैं भर्खरै सकिएको छ । अर्को पर्व तिहार आउने क्रममा छ । त्यसैले यतिखेर नेपालीहरू हँसखुस छन् । घरघरमा मीठा खानेकुरा पाकेका छन् । आफन्तजनको जमघट हुँदैछ । गच्छे अनुसार खर्च गर्दैछन् । चाडपर्व यतिमै सीमित भने छैन । मदिरा सेवन गर्ने जमात पनि बढ्दो छ दसैं र तिहारका लागि मात्रै १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको मदिरा तथा मदिराजन्य वस्तुको आयात भएको छ ।


भन्सार विभागको तथ्यांक अनुसार गत साउन, भदौ र असोज महिनामा गरी १ अर्ब ६२ करोड ७ लाख ६४ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तुको आयात भएको छ । दसैं र तिहारको लागि आवश्यक पर्ने रक्सी साउन महिनादेखि आयात हुने आयातकर्ता बताउँछन् । असोज महिनामा ९८ करोड ८ लाख ४३ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तु आयात भएको छ । यस्तै भदौ महिनामा ४२ करोड २ लाख ३८ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको छ ।साउन महिनामा भने रक्सी आयात भदौ र असोज महिनाको तुलनामा केही कमी देखिएको छ । विभागका अनुसार गत साउन महिनामा २१ करोड ९६ लाख ८३ हजार रुपैयाँ बराबरको मदिरा तथा मदिराजन्य बस्तु आयात भएको छ ।

गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड ९ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको रक्सी आयात भएको थियो । आर्थिक वर्ष २०७३÷७४ सालमा ४ अर्ब ३६ करोड १४ लाख १६ हजार रुपैयाँ बराबरको रक्सी आयात भएको थियो । नेपालमा १४ देशबाट वियर आयात हुने गरेको छ भने अन्य प्रकारका मदिरा ३६ वटा देशबाट आयात हुँदै आएको छ । नेपालमा बियर अष्ट्रेलिया, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका देशबाट आयात हुने गर्छ ।
अन्य प्रकारका मदिराहरु अष्ट्रेलिया, साउथ अफ्रिका, क्यानडा, चीन, इटाली, जापान, चिली, पर्चुगल, ताइवान, स्पेन, दक्षिण कोरिया, अष्ट्रिया, पोल्याण्ड, नामिबिया, बेलायत, रसिया, स्यूडेन, ब्राजिल, क्यूबा, सिङगापुर, टर्की, अमेरिका, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्याण्ड, मेक्सीको, नेदरल्याण्ड, फिलिपिन्स, सर्बिया, थाइल्याण्ड, भियतनाम, भारत लगायतका मुलुकबाट आयात हुने गरेको विभाग जनाएको छ ।

Womui
Womui