शिक्षक व्यवस्थापनका लागि बजेट अनुदान

108

खजुरा (बाँके), असोज २५-
बाँकेको खजुरा गाउँपालिकाले खजुरा क्षेत्रभित्र रहेका मावि, निमावि र प्राविमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । शिक्षक व्यवस्थापन अनुदानवापत ३ किसिमको अनुदानको व्यवस्थापन गर्नुका साथै मदरसालाई अझै व्यवस्थित गर्नका लागि निशार अलि दर्जीको संयोजकत्वमा कार्यदल गठनसमेत गरेको स्रोत व्यक्ति टंक दाहालले जानकारी दिए । स्रोत व्यक्ति दाहालका अनुसार ६ वटा मावि, १० आधारभूत, ३ प्रावि र ३ मदरसाका लागि अनुदान दिने निर्णय गरिएको हो ।

अमर मावि, सि गाउँ, मावि मनकामनापुर, मावि गोदहना, पशुपति मावि घियालाई एक/एक शिक्षक र जनसेवा मावि गिजरालाई २ शिक्षकका लागि १ शिक्षक बराबर ३ लाखका दरले अनुदान छुट्याउने निर्णय गरिएको छ । त्यस्तै निमावितर्फ जनसेवा मावि गिजरा, मावि मनकामनापुर, पशुपति भानु मावि उढरापुर, आधारभूत नेरा निमावि धौलागिरी, मनकामना ई गाउँ, नेरा आदर्श आधारभूत निमावि डि गाउँ, जनकल्यान निमावि गिजरा, आधारभूत सिन्दुरीका लागि एक/एक जना शिक्षक दरबन्दीका लागि एक शिक्षक बराबर वार्षिक २ लाखका दरले बजेट विनियोजन गरिएको शिक्षा समिति सदस्य सचिव विश्वराज ढकालले जानकारी दिए ।

त्यसैगरी प्रावितर्फ अम्बेमाता प्रावि बुद्धपुर, कालिका प्रावि सोनवर्षा, अमृता प्रावि सोनपुरका लागि पनि १/१ जना शिक्षक दरबन्दीका लागि १ लाख ५० हजारका दरले बजेट छुट्याइएको सदस्य सचिव ढकालले बताए । उढरापुर, सोनपुर र रनियापुरमा रहेका ३ वटा मदरसालाई पनि एक लाख वार्षिक अनुदान दिने गरी निर्णय गरिएको छ । समितिका संयोजक तथा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा बसेको समितिको बैठकले गत वर्ष कम्प्युटर प्रदान गरिएका समुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई दशैं र तिहारको बीचमा १५ दिने तालिम दिइने, विद्यालय कर्मचारीका मागलाई सम्बोधन गर्दै वार्षिकरुपमा खाँदै आएको सेवामा रकम थप गर्ने, कक्षा कोठा सवलीकरणका लागि पनि मावि, निमावि र प्राविलाई रकम छुट्याउने निर्णय गरिएको छ । १४ मावि, ५ निमावि, १२ प्रावि १७ मदरसा र ६६ बालविकास रहेको खजुरा क्षेत्रभित्र शिक्षक दरवन्दी व्यवस्थापन, कम्प्युटर तालिम, विद्यालय कर्मचारी, बालविकास कर्मचारीलाई थप र कक्षकोठा सवलीकरण गरी करीब ७९ लाख ४३ हजार रुपैयाँ छुट्याइएको जनाइएको छ ।

Womui
Womui