दसैं मनाउन फर्किन थाले कामदार

114

प्रनिलबहादुर खड्का
काठमाडौं, असोज २४ । नेपाली समाजमा दसैं आयो खाउला पिउला… भन्ने उखान त्यत्तिकै चलेको होइन । काम विशेषले निकै टाढा पुगेका र चाडपर्वमा आफ्नै घर फर्कने चलन वर्षौंदेखिको हो । दसैं नजिँकिदै गर्दा रोजगारीका लागि विभिन्न देश पुगेका श्रमिक घर फर्किने क्रम सुरु भइसकेका छ । रोजगारीका लागि विदेश जानेभन्दा स्वदेश फर्किने कामदारको संख्या धेरै भएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।


त्रिभुवन विमानस्थलमा दसैं मनाउन फर्किनेको भीडभाड ह्वात्तै बढेको छ । मलेसियामा फर्र्िकएका सिराहा रमेश बिकले परिवारसँगै दसैं मनाउनका लागि स्वदेश फर्किएको बताए । ‘२ महिना अघिदेखि बिदा मिलाएको थिएँ । परिवारसँगै रहेर चाडपर्व मनाउन भनेर नै यही समय घर आएको हुँ, उनले भने । कतारबाट दसैं, तिहार मनाउनकै लागि स्वदेश फर्किएका झापाका निरज राजबंशीले चाडपर्वमा परिवासँग रहनुको मजा बेग्लै हुने बताए। ‘वर्षमा एक पटक बिदा मिल्छ । त्यो बिदालाई चाडपर्वकै बेला पारियो भने धेरै आफन्तसँग भेटघाट हुन पाइन्छ,’ उनले भने ।

अध्यागमन कार्यालयका अनुसार केही दिनयता वैदेशिक रोजगारीबाट दैनिक २ हजार ५ सयको हाराहारीमा नेपाली स्वदेश फर्किने गरेका छन् । चाडपर्व भन्दा बाहेकको समयमा यो तथ्यांक दैनिक ३ देखि ७ सयसम्म हुनेगर्छ । असोज महिना लागेपछि मात्रै करिब ४० हजार नेपाली स्वदेश फर्किएको अध्यागमन कार्यालयले जनाएको छ । अन्य समय मासिक १५ हजारको हाराहारीमा मात्रै स्वदेश फर्किने गरेको कार्यालयको तथ्यांक छ । यसैबीच, वैदेशिक रोजगार विभागले विदेशबाट फर्किएका कामदारको तथ्यांक राख्न गत असोज १५ देखि सुरु गरेको छ । त्यसयता १२ हजार नेपाली कामदार विदेशबाट नेपाल फर्किएका छन् । यो अवधिमा ७ हजार मात्रै कामदार बाहिरिएको विभागले जनाएको छ ।  वैदेशिक रोजगारीका लागि नेपाली युवा सबैभन्दा धेरै खाडीका देश र मलेसिया जाने गरेको पाइन्छ ।

Womui
Womui