डलर फेरि आकासियो, एक डलर खरिद गर्न ११९ रुपैयाँ खर्चनुपर्ने

140

छिनछिन खबर
काठमाडौं, असोज २३ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले असोज २३ गते मंगलबारका लागि प्रति एक डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी आउन थालेपछि डलरमूल्य बढ्न थालेको थियो । गत शुक्रबार एक अमेरिकी डलर खरीददर ११८ रुपैयाँ ३० पैसा रहेको थियो । गत अप्रिलदेखि नै नेपाली मुद्रा अमेरेकी डलरसँग अवमूल्यनमा हुँदै आएको छ ।


भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको हो । अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सिधा असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ । नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर छ । डलर भाउ बढेसँगै अहिले एक डलर खरीद गर्न ७४ भारु खर्च गर्नुपर्नेछ । नेपालीहरुको महान चाड बडा दशैं नजिक आइसकेको छ । यहि समयमा डलरको भाउ महङ्गो हुँदा बजार भाउ उच्च हुने देखिएको छ । दैनिकजसो डलरमा देखिएको बढोत्तरीले बजार भाउ उच्च भई न्यून आम्दानी भएकालाई थप प्रभावग पर्ने देखिन्छ ।

आयातित तेलको भुक्तान डलरमा गर्नुपर्ने हुदा कच्चा तेलको मुल्य समेत वृद्धि भएको छ । कच्चा तेलको मूल्य बढेसँगै अन्र्तराष्ट्रिय बजारमा डलरको माग बढ्ने भएकोले डलरको मूल्य बढ्न गएको राष्ट्र बैंकको भनाइ छ । डलरको बढ्दो मूल्यको प्रभाव नेपालको शोधानान्तर बचत र विदेशी विनिमय सञ्चितिमा पर्ने गर्दछ । आयातमा आधारित अर्थतन्त्रमा भएको नेपालमा डलरको भाउ बढ्ने बित्तिकै आयातको खर्च बढ्दा भुक्तानी सन्तुलनमा दवाब पर्ने गर्दछ । अर्को नेपालले विदेशी मुद्रामा लिएको ऋणको डलरको भाउ बढेसँगै बढ्छ जसले वैदेशिक ऋण तिर्दा नेपाललाई बजेटमा गरिएको व्यवस्थाभन्दा थप पैसा आवश्यक पर्छ । ठूला आयोजना निमार्णका लागि नेपालले अमेरिकी डलरमा विभिन्न कम्पनीसँग गरेको सम्झौता अनुरुप डलरको भाउ बढ्दा यसले पनि थप रकम भुक्तानीको बोझ नेपाललाई थपिन्छ । डरलमा भुक्तानी गर्नुपर्ने सबै क्षेत्रमा समेत डलर मजबुत बन्दा नेपाललाई बोद्ध थपिन्छ ।
अधिकांश उपभोग्य वस्तु डलरमा भुक्तानी गरेर आयात भईरहेको नेपालको सन्दर्भमा यस्ता वस्तुको मूल्य बढ्ने निश्चित छ । जसले गर्दा व्यापार घाटा झन् बढेर जान्छ ।

नेपाली मुद्रासँग भारतीय मुद्रा सटही दर स्थिर रहेको कारणले अमेरिकी डलरसँग भारुको सटही दर मा आउने परिवर्तनले नेपाली रूपैयाँमा असर देखिन्छ । जसले भारतीय मुद्रामा नै नेपालमा सामान आयात गर्दा पनि महङ्गो पर्न जान्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । डलर महङ्गो भएको बेला कच्चा पदार्थको लागत बढ्न जाँदा भारतमा नै महङ्गो पर्ने वस्तु नेपालसम्म आईपुग्दा अझ धेरै महङ्गोे पर्न जान्छ । देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन भने केही सहज हुन्छ । पहिलेको भन्दा सस्तोमा वस्तु बिक्री हुने भएकाले निर्यात बढाउन सक्ने अवस्था रहन्छ । तर नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने अवस्था नभएको हुनाले निर्यात बढ्ने सम्भावना देखिँदैन ।

डलरको मूल्य बढ्दा विदेशी सामान महङ्गो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ ।
त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् । सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ ।

विज्ञहरुकाअनुसार रेमिट्यान्समा आधारित अर्थतन्त्रमा भएका देशहरुमा भित्रने रेमिट्यान्स भने डलर मजबुत हुँदा बढ्ने गर्दछ । विभिन्न मुलुकबाट नेपालीहरुले अमेरिकी डलरमा रेमिट्यान्स पठाउँछन् । डलरको मूल्य बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् । रेमिट्यान्सको आप्रवाह बढ्ने सम्भावना रहन्छ ।
यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् ।  पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर जाँदा बढी पैसा तिर्नुपर्छ । डलरको मूल्य बढेको बेला पढ्न जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा पनि धेरै रुपैयाँ खर्च हुन्छ । जसले ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ ।

Womui
Womui