अधुरो बिद्यु्तीकरण उद्घाटन गर्न उर्जामन्त्री पुनद्धारा हेलिकप्टर चार्टर

93

कुसुम( बाँके), असोज २३-
बाँकेको कुसुममा अधुरो रहेको बिद्युतीकरणलाई उर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन् । मन्त्री पुन मंगलबार मध्यान्हतिर नेपालगन्जबाट कुसुमसम्म हेलिकप्टर चढेर उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । हेली माउण्टेनमार्फत नेपालगन्जबाट मन्त्री पुन सहितको टोली पुर्वपश्चिम राजमार्गमै रहेको कुसुममा ओर्लिएको थियो । उनले त्यहाँ रहेको १३२ केभी क्षमताको सव–स्टेशन र ग्रामिण बिद्युतीकरणको उद्घाटन गरेका हुन् । उक्त सव–स्टेशन सञ्चालनमा आएसँगै कुसुमका ३० प्रतिशत स्थानीय बासिन्दाले बिद्युत सेवा उपयोग गर्न पाएका छन् ।

अझै ७० प्रतिशत काम अधुरै रहेकाले कुसुमस्थित नदीपारीका पुरै गाउँ र नदीवारीका सिक्टा र गाभरका स्थानीय बासिन्दा बञ्चित छन् । अधुरो बिद्युतीकरण उद्घाटन गर्दा मन्त्री पुन खिन्न भएका थिए । सव–स्टेशन उद्घाटन गर्दा हौसिएका पुन अधुरो बिद्युतीकरण उद्घाटन गर्न पुग्दा स्थानीय बासिन्दाको गुनासो सुनेपछि भने खिन्न भए । बुटवल–कोहलपुर १३२ केभी दोस्रो सर्किट आयोजनामार्फत २०७१/७२ मा उक्त सव–स्टेशन निर्माण सम्पन्न भएको थियो ।

उक्त सव–स्टेशनमार्फत पश्चिम दाङमा १३२ केभी क्षमताको प्रशारण लाईन पु¥याउने प्राधिकरणको योजना रहेको छ । सोही आयोजनामार्फत राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सामुदायिक अवधारणा अन्तर्गत बिद्युतीकरण गरिएको हो । कुसुमका पुरै गाउँमा दसै अगाडी बत्ती बाल्ने तयारी गरिएपनि ठेकेदारले काम अधुरै छाडेको छ । बिद्युतीकरणको काम आंशिक रुपले मात्र सम्पन्न भएको छ । सहकारी संस्थाका अनुसार अहिलेसम्म करिव ३० प्रतिशत मात्र बिद्युतीकरण भएको छ । कुसुम सामुदायिक ग्रामिण बिद्युत सहकारी संस्थाका कोषाध्यक्ष गेहेन्द्रकुमार खड्काले २०६२ सालबाट थालेको प्रयासले ढिलै भएपनि सार्थकता पाउन लागेको बताए । ठेकेदारले चार वर्षसम्म बिद्युतीकरणको काम अधुरो छाडेर धेरै झुलाएको भन्दै उनले अझैपनि काम पुरा हुन नसकेको बताए ।
‘अहिलेसम्म नदीवारीका सबै गाउँमा बत्ती बल्ने स्थिती छैन, नदीपारीका त सबै गाउँ अन्धकार भएका छन्,’ उनले भने ‘हाम्रो चाहना त कुसुममा एकै पटक बत्ती बाल्ने सोच थियो, सबै गाउँका सामुदायिक वनले पैसा उठाएर बिद्युतीकरणमा लगानी गरेका थिए, तर हामीले चाहेर पनि एकै पटक बत्ती बाल्न सकेनौं ।’

स्थानीय बासिन्दा पोषण केसीले स्थानीय बासिन्दा, बिद्युती प्राधिकरणले चाहेर पनि कुसुमका सबै गाउँमा बत्ती बाल्ने स्थिती नरहेको बताए । ‘अहिलेसम्म ३० प्रतिशत मात्रै बिद्युतीकरण भएको छ, ७० प्रतिशत बिद्युतीकरणको काम बाँकी छ,’ उनले भने ‘दुई महिनाभित्रमा पुरै गाउँमा बत्ती पु¥याउन त्यति सजिलो छैन, रुख काट्न कठिनाई छ, निकुञ्जले मान्दैन ।’ अर्का स्थानीय यमबहादुर खड्काले कुसुममा बिद्युतीकरण उद्घाटन हुँदा खुसी नभएको बताए । ठेकेदारले ४ वर्षदेखी झुलाएर ३० प्रतिशत मात्र काम गरेको दुखेसो पोख्दै निकुञ्ज क्षेत्रमा रुख कटान गर्नुपर्ने हुँदा अझैपनि चुनौती नै रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री पुनले अधुरो रहेको बिद्युतीकरणको काम दुई महिनाभित्रमा सम्पन्न गर्ने ठोकुवा गरे । उनले स्थानीय बासिन्दालाई आश्वस्त पार्दै भने, ‘अहिले नदीवारी मात्रै बत्ती बलेपनि नदीपारीका गाउँमा पनि छिुटटै बत्ती बाल्नेछौं, समयमै परिणाम प्राप्त हुनेछ ।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दुई महिनाभित्र बिद्युतीकरणको अधुरो काम सम्पन्न हुने प्रतिवद्धता जनाए । ‘दुई महिनाभित्र सम्पन्न गर्न हामीले भनेका छौं, कुनैपनि सामानको अभाव हुन दिदैनौं, निकुञ्ज र स्थानीय बासिन्दा सबैबाट सहयोग चाहिन्छ,’ उनले भने ‘मन्त्री ज्युले दुई महिनाभित्र अधुरो ठाउँमा बत्ती बल्ने निर्देशन दिईसक्नु भएको छ, जसरी भएपनि सबै कुसुमका गाउँमा बत्ती बल्छ ।’ संस्थाका अध्यक्ष तेजबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्वसभामुख ओनसरी घर्ती, प्रतिनिधी सभाका सदस्य महेश्वर गहतराज, प्रदेश सांसद कृष्णा केसी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, विभिन्न दलका नेता, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

 

Womui
Womui