टी–२० विश्वकप छनोटमा नेपालको चौथो जित, ११७ रनले भुटान पराजित

76

छिनछिन खबर
काठमाडौं, असोज २३ । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेल जितेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपाल मंगलबार भएको खेलमा भुटानसँग १ सय १७ रनले विजयी भयो । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा अलआउट भयो । भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बटुले । उनले १९ बलमा २ चौका हिर्काए। अन्य ब्याट्सम्यान नेपाली बलरसामू निरीह सावित हुँदा दोहोरो अंकमा रन जोड्न नपाइआउट भए । भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्केका थिए ।


भुटानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट लिए । बसन्त रेग्मीले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोडेको थियो । नपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे । उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर विनोद भण्डारी शून्य रनमा आउट हुँदा अनिलकुमार साहले २७ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र १ छक्का हिर्काए । आरिफ शेखले १५ बलमा १३ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन जोडे । ५ बल खेलेका करण केसी १० रनमा अविजित रहे ।

यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ। असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

Womui
Womui