किन देखिएन कृषि बीमामा अपेक्षित सहभागिता ? यस्तो छ कारण

114

प्रशिद्धिका खड्का
काठमाडौं, असोज १६ । कृषि बीमा शुरु भएको पाँच वर्ष भईसक्दा पनि यसमा उत्साहजनक सहभागिता देखिएको छैन । कृषि बीमामा कृषकहरु मात्र नभई बीमा कम्पनीहरुले समेत त्यति चासो दिएको देखिदैन । जसले गर्दा कृषि बीमा बापत कम्पनीहरुले बीमा शूल्क आर्जन बढाउन सकेका छैनन् । सरकारले कृषकहरुलाई कृषि बीमा कार्यक्रममा व्यापक सहभागिता गराउने उद्देश्यले बीमा शूल्कको ७५ प्रतिशत अनुदान दिँदै आएको छ । तर पनि नीतिगत अप्ठ्यारो, भुक्तानीमा समस्या लगायतको झन्झटका कारण बीमा प्रभावकारी हुन सकेको हो ।


कृषि बीमा वापत गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ५७ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको २२ अर्ब ३५ करोड रुपैयाँ कुल बीमा शूल्कको २.५६ प्रतिशत मात्रै हो । संचालनमा रहको कुल २० निर्जीवन बीमा कम्पनीहरु (नयाँ सहित) मध्ये जम्मा १२ कम्पनीहरुवाट मात्रै कृषि बीमालेख जारी भएका छन् । जसवाट ५७ करोड २७ लाख रुपैयाँ बराबरको बीमा शूल्क आर्जन भएको हो । यसमा पनि ४२ करोड ९५ लाख रुपैयाँ सरकारवाट अनुदान बापत प्राप्त रकम भएको बीमा समितिले जनाएको छ ।

नयाँ सहित आठ निर्जीवन बीमा कम्पनीहरुले कृषि सम्बन्धि कुनै पनि बीमा लेख जारी गरेका छैनन् । बीमा समितिका अनुसार सबै भन्दा धेरै नेको इन्स्योरेन्सले १३ करोड ३५ लाख रुपैयाँको बीमा शूल्क आर्जन गरेको छ । यो कृषि बीमा वापत आर्जन गरेको कुल बीमा शुल्कको २३.३१ प्रतिशत हो । त्यसपछि एनएलजी इन्स्योरेन्सले १० करोड ९७ लाख रुपैयाँ कृषि बीमा शूल्क आर्जन गरेको छ ।

लुम्बिनी जनरल इस्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सले पनि ५ करोड बराबरको कृषि बीमा शूल्क आर्जन गर्न सफल भएको छ । यस अवधिमा १३ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बराबरको कृषि बीमा भएको छ भने २४ करोड २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरिएको बीमा समितिको तथ्यांक छ । चालु आर्थिक वर्षको लागि विनियोजित बजेटले पनि कृषि बीमालाई प्राथमिकतामा राखेको छ । न्यून आय भएका किसानहरुलाई केन्द्रित गरी लघु कृषि बीमा जस्ता कार्यक्रमहरु समेत सार्वजनिक गरेका छन् । तर कृषक र बीमा कम्पनीहरु भने कृषि बीमातर्फ आर्क्षित हुन सकेका छैनन् । किसानलाई सुरक्षित बनाउन आवश्यक मानिएको बिमाको विस्तार हुन भने निकै पहिलदेखि नै माग रहँदै आएको छ ।

Womui
Womui