नेपालका पश्चिम भेगमा अझै केही दिन वर्षा हुने

150

काठमाडौँ , असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो ।विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताउँछन् । “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनी भन्छन् ।पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यस वर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ ।नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो ।

जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ ।यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ ।

यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताएका थिए । उनले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराएका थिए ।सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताउँछन् । उनी बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा आपत्कालीन उद्धार तथा राहतका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा राखिएको बताउँछन् । “मन्त्रालय पनि राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको छ”, उनी भन्छन् ।

भूगर्भ्विद् डा कृष्ण देवकोटा पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण नेपालमा धेरै पहिरो जाने गरेको बताउँछन् । “बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो”, उनी भन्छन् ।चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ ।
रासस

Womui
Womui