जुम्ल्याहा सन्तान पाउँदा चौधरी दम्पत्ती हर्षित

110

नेपालगन्ज, असोज ९-
राप्ती नदीको बाढी गाउँमा पस्दा घरभित्र पुरिएर तीन छोरी गुमाएका एक दम्पत्तीले जुुम्ल्याहा सन्तान जन्माएका छन् । २०७४ साउन अन्तिम साता आएको बाढीले घर भत्किदा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ का कमिलाल थारुका १२ बर्षिया छोरी अञ्जु, ९ बर्षिया सरिता र ७ बर्षिया सुस्मिताको ज्यान गएको थियो । बाढीले कोख नै रित्याईदिएपछि उनीहरु एक वर्षदेखी तनावमा रहदै आएका थिए ।

भेरी अञ्चल अस्पतालमा आईतबार राती भर्ना भएकी कमिलालकी पत्नी फुलकुमारीले जुम्ल्याहा छोरा र छोरी जन्माएकी हुन् । अस्पतालका अनुसार छोराको तौल २ किलो र छोरीको १ किलो ७ सय ग्राम रहेको छ । जुम्ल्याहा सन्तान पाएपछि चौधरी दम्पत्ती निकै हर्षित भएका छन् । उनीहरु दुबै जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेका छन् । जुम्ल्याहा छोराछोरी जन्मेपछि भगवानले थोरै भएपनि खुसी फर्काइदिएको कमिलालले प्रतिक्रिया दिएका छन् । ‘पोहोरसाल भगवानले तीन छोरीको एउटै चिहान बनाईदिएर हामीलाई एक्लै बनाईदिएका थिए, अहिले थोरै भएपनि खुसी फर्काईदिएका छन्,’ चौधरी दम्पत्तीले भने ।

कमिलालको दम्पत्तीले जुम्ल्याहा छोराछोरी जन्माएकोमा गाउँका बासिन्दाहरु नै खुसी भएका छन् । उनीहरुलाई मंगलबार उपहार स्वरुप पोषिलो खानेकुरा प्रदान गरेका छन् । बैजापुरस्थित लालपुरमा रहेको घरमै पुगेर पुर्वसांसद पट्टु थारुसहित स्थानीय अगुवा हुमाशंकर ओली, सन्तोष खड्का, मानबहदुर खड्का, हरि चौधरी लगायतले लोकल कुखुरा, अण्डा, फलफुल लगायत पोसिलो खानेकुरा उपहार स्वरुप दिएका थिए । यस्तै आमा र बच्चाका लागि लत्ता कपडा पनि प्रदान गरिएको छ ।

Womui
Womui