बलात्कारका घटना एकपछि अर्को सार्वजनिक, पत्रकार दिक्षितविरुद्ध पनि मुद्दा

45

नेपालगन्ज, असोज ६-
बलात्कारविरुद्ध देशभर बिरोध भईरहेका बेला बाँकेमा एकपछि अर्को गरेर बलात्कारका घटना सार्वजनिक भईरहेका छन् । बलात्कारका घटना सार्वजनिक हुन थालेपछि शान्ति, सुरक्षामाथी प्रश्न उठेको छ । बलात्कारका घटना सार्वजनिक हुने क्रममै नेपालगन्जका क्रियाशिल पत्रकार बिनय दिक्षितमाथी पनि बलात्कारको आरोपमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यो घटनासहित बाँकेमा चालु वर्षको साउन र भदौं महिनामा मात्रै ९ वटा बलात्कारका मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

बिबाहित दिक्षितले आफुलाई बिबाह गर्ने प्रलोभन देखाउँदै विगत डेढ वर्षदेखी बलात्कार गर्दै आएको अन्दाजी २६ वर्षिया पीडित किशोरीले निवेदन दर्ता गराएको मुद्दा शाखाले जनाएको छ । मुद्दा शाखाका प्रहरी निरीक्षक रणबहादुर बिष्टले पीडितबाट किटानी जाहेरी परिसकेपछि दैनिक नेपालगन्जमा कार्यरत पत्रकार दिक्षितलाई खोजी गरिरहेको बताएका छन् । ‘पीडितले कारण नै खुलाएर मुद्दा दर्ता गरिसकेपछि उसलाई कानुनी दायरामा ल्याउनु हाम्रो दायित्व हो, सकभर आफै हाजिर भएपछि राम्रो हुन्थ्यो, उपस्थित हुने अवस्था नदेखिएपछि खोजी गरिरहेका छौं,’ उनले भने । दिक्षित विरुद्ध जवरजस्ती करणी मुद्दामा कारबाही चलाउने प्रहरीले जनाएको छ ।

आफुलाई यौनको खेलौना बनाएर बलात्कार गरेको भन्दै हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने पीडितको माग रहेको प्रहरीले जनाएको छ । कानुनमा भएको ब्यवस्था अनुसार कसैले प्रलोभनमा पारेर वा दवाव दिएर जवरजस्ती करणी गर्न पाउँदैन । यदी त्यस्तो गरेको पाइएमा कानुन अनुसार दोषी हुन्छ । जिप्रकाका एसपी अरुण पौडेलले पनि बिनय दिक्षित भन्ने ब्यक्तिविरुद्ध मुद्दा दर्ता भईसकेको बताए । ‘मुद्दा दर्ता भएपछि खोजी गरिरहेका छौं, उ कस्तो मान्छे हो, के काम गर्छ भन्ने सरोकार हामीलाई हुदैन, कानुन कसैका लागि पनि क्षम्य हुदैन,’ उनले भने ‘पीडितले अन्यायमा परेको कुरा बताएपछि कानुन बमोजिम न्याय दिनु हाम्रो दायित्व हुन्छ ।’ दिक्षित केहीदिनदेखी फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित किशोरी न्यायका लागि जिप्रका धाउने गरेको प्रहरीले बतायो । यस विषयमा प्रतिक्रिया लिन खोज्दा दिक्षितको मोबाईल अफ छ । बाँके बाहिर घर भएकी मधेसी समुदायकी ती किशोरीले गैर सरकारी संस्थामा काम गर्ने गरेको र केहीसमय नेपालगन्जको एक सञ्चार माध्यममा पनि काम गरेको मुद्दा शाखाले जनाएको छ । ‘दिक्षितले म माथि अन्तिम पटक भदौं २ गतेतिर शारिरीक सम्पर्क राखेका थिए, सधैं बिबाह गर्ने प्रलोभन मात्रै देखाउने, यौन सन्तुष्टी लिने, तर बिबाह नगरेपछि न्याय खोज्न बाध्य भएकी हुँ,’ किशोरीलाई उदृत गर्दै एक अनुसन्धान अधिकृतले भने । आफु न्यायका लागि प्रहरी कहाँ जाने बताएपछि डेढ महिनादेखी आफुलाई पैसाको प्रलोभन देखाएर मिलाउने प्रयास गरेको उनले प्रहरी समक्ष बयान पनि दिएकी छन् ।

Womui
Womui