सर्वोच्चले दियो पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपतिलाई गराएको सपथलाई मान्यता

83

छिनछिन खबर
काठमाडौं, असोज ४ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले अवकास पाएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई खुवाएको सपथलाई सर्वोच्च अदालतले मान्यता दिएको छ । बिहीबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले पहिलो सुनुवाइमै रिट खारेज गर्ने फैसलासमेत गरेको छ । ‘प्रधानन्यायाधीश गोपाल पराजुली पदमा नरहेको भन्ने जानकारी प्राप्त गर्नु अगावै सम्माननीय राष्ट्रपतिको सपथ ग्रहणको कार्य सम्पन्न भइसकेको अवस्थामा सो सपथलाई संविधान विपरीत भनी लिइएको निवेदन जिकीर निराधार एवं तर्कहीन रहेको देखिँदा प्रस्तुत रिट निवेदन प्रथम दृष्टि मै स्वीकारयोग्य देखिन आएन,’ फैसलामा भनिएको छ ।


गत फागुन ३० गते प्रधानन्यायाधीशका रूपमा पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाएका थिए । सोही दिन न्यायपरिषदका सचिव नृपध्वज निरौलाले २०७४ साउन २१ मै अवकास हुनुपर्ने गरी पराजुलीबारे नयाँ तथ्य भेटिएको भन्दै अवकासको पत्र थमाएका थिए । अधिवक्ता हेममणि सुवेदीले पराजुलीले राष्ट्रपतिलाई खुवाएको सपथ बदर गर्न माग गर्दै रिट दिएका थिए । तर सर्वोच्च अदालते अवकास पाएको समयभन्दा पछि सपथ ग्रहण गराएको कुनै प्रमाण निवेदकले दिन नसकेको भन्दै त्यसलाई मान्यता दिएको हो ।
न्यायाधीश प्रधानको फैसलाले २०७४ साउन २१ देखि फागुनसम्म उनले प्रधानन्यायाधीशका रूपमा गरेको कामलाई भने मान्यता दिएको छ । यो फैसला उनको उमेर विवादबारे बोलेको छैन । पराजुली प्रधानन्यायाधीश हुनुअघिदेखि नै उमेर विवादमा परेका थिए । सरकारी अभिलेखमै चारवटा जन्ममिति भेटिएपछि उनी यस्तो विवादमा परेका हुन् ।

Womui
Womui