अबदेखि विदेशमा गर्ने उपचारको खर्च सरकारले नबेहोर्ने

57

छिनछिन खबर
काठमाडौं, भदौ २९ । सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्था सहितको जनस्वास्थ्य विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट आएको प्रतिवेदनलाई प्रतिनिधिसभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नबेहोर्ने प्रावधान राखिएको छ । सरकारले वर्तमान तथा पूर्वविशिष्ट पदाधिकारीलाई सरकारी कोषबाट विदेशमा उपचार गर्न आर्थिक सहयोग गर्दै आएको थियो । तर अब यो व्यवस्थापछि कोही पनि व्यक्तिलाई राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्न सरकारले खर्च दिन पाउनेछैन ।
जनस्वास्थ्य विधेयकमा गगन थापा र खगराज अधिकारीले स्वदेशमा उपचार नगरी आफूखुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलव्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए ।

समितिले सो प्रस्ताव स्वीकार गर्दै त्यसलाई थप स्पष्ट र विस्तारित गर्दै यस्तो प्रावधानसहित विधेयक पारित गरेको हो । अब कुनै पनि नेपालीले विदेशमा उपचार गर्दा खर्च आफैले बेहोर्नुपर्नेछ। केही वर्षयता विदेशमा उपचार खर्च र आर्थिक सहायताका नाममा सरकारी रकमको दुरुपयोग हुने क्रम बढ्दो थियो । गगन थापा स्वास्थ्यमन्त्री हुँदा कार्यविधि बनाएर रोक्ने प्रयास गरे पनि गृह मन्त्रालय तथा अन्य विभिन्न नाममा सरकारले प्रचलित अन्य नियममा टेकेर विशिष्ट व्यक्तिललाई सहायता उपलब्ध गराउँदै आएको थियो । यसलाई रोक्न कानुनमै उल्लेख गर्नुपर्ने थापाको प्रस्ताव थियो । अब संसदले प्रस्तावित ऐन पारित गरेपछि प्रचलित कानुनमा अन्यत्र जेसुकै भए पनि सरकारले विदेशमा उपचार गर्न रकम उपलब्ध गराउनेछैन । राज्यले विशिष्ट वा अरु कुनै नाममा गरेको विभेद अन्त्य हुनेछ भने नीति निर्माता र शासन सञ्चालन गर्नेहरूले सरकारी कोष दुरुपयोग गरेर विदेश उपचार गर्न जाने कुरा अन्त्य हुनेछ ।

विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए । समितिमा ती संशोधन प्रस्तावमा दफाबार छलफल हुँदै पारित भएको हो ।

Womui
Womui