स्वदेशी औद्योगिक प्रतिष्ठानमा ३५ लाखलाई रोजगारी

54

सपना शर्मा
काठमाडौं, भदौ २९ । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजामा स्वदेशी औद्योगिक प्रतिष्ठानमा करिब ३५ लाखले रोजगारी पाएको तथ्य भेटिएको छ । देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्कसमेत सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको हो ।
यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ ।


प्रदेशगतरुपमा प्रदेश नं ३ मा ३०.०६ र कर्णाली प्रदेशमा ६ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । जिल्लातर्फ तराईका जिल्लामा बढी र पहाडी जिल्लामा औद्योगिक प्रतिष्ठान कम छन् । सबैभन्दा धेरै काठमाडौँमा १४ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । काठमाडौँ महानगरपालिकामा ८.०६ प्रतिशत यसको वितरण देखिन्छ भने सबभन्दा कम मनाङमा ४८७ प्रतिष्ठान छन् । काठमाडौँपछि झापा, रुपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरुपमा बढी औद्योगिक प्रतिष्ठान छन् । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो । गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरुपमा गणना गरिएको थियो ।

सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई ९वस्तु तथा उत्पादन० को विवरण गणनामा समावेश छ । अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप (गतिविधि) मध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलापअन्तर्गत कृषि, वन, माछापालन, व्यवसायदेखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत् ग्यास, वाफ, आपूर्ति, पानी, ढल, फोहोर व्यवस्थापन, बीमा, थोक तथा खुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चारदेखि घरजग्गा कारोवारलगायत क्रियाकपालालाई गणनामा समावेश गरिएको छ । जापान सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको उक्त गणनामा चार हजार ५०० जनशक्ति संलग्न थिए । नतिजाको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने विभागको तयारी छ ।

Womui
Womui