राष्ट्रिय गौरवका आयोजना किन दयनीय ?

244

मालती ओली
काठमाडौं, भदौ २८ । सरकारले सबै प्रकारको साधन र स्रोत उपलब्ध गराएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति यसपटक पनि सुधार हुन सकेन । शिघ्र रुपमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ २१ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखिएको छ ।
यीमध्ये केही आयोजनाको प्रगति राम्रो भएपनि केही आयोजनाको प्रगति भने हालसम्म पनि शुन्य अवस्थामा छ । राजनीतिक रुपमा चर्को अतिक्रमण तथा नीतिगत रुपमा देखिएका समस्याका कारण ठूला भनिएका आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् ।


डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले देशका ठूला परियोजनालाई विशेष प्राथमिकता दिएर ती आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेका थियो । तर काम गर्ने शैली तथा तरिका हेर्दा भने पूर्णत उल्टो र अन्य नियमति आयोजना भन्दा फरक देखिएका छैन ।पश्चिम सेती जलविद्युत् आयोजना पनि ती मध्यको एक आयोजना हो । सो आयोजनाको प्रगति करिब करिब शुन्यको हालतमा छ । चिनियाँ कम्पनी थ्री गर्जेजले ७ वर्षसम्म होल्ड गरेर आयोजना अलपत्र पारेर छाड्ने अवस्थामा पुगेको छ । यस्तै काठमाडौंलाई तराई मधेशसँग जोड्ने द्रुर्तमार्गको काम समेत करिब करिब शुन्य अवस्थामा रहेको छ । सो आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको लागि प्रक्रिया अगाडि बढाएको छ । सो आयोजनाको वित्तीय प्रगति भने ५.८ प्रतिशत रहेको छ ।

यस्तै उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको अवस्था पनि त्यस्तै रहेको छ । सो आयोजनाको हालसम्म भौतिक प्रगति १२ प्रतिशत मात्रै रहेको छ । यस्तै कमजोर भौतिक प्रगति देखिएको आयोजनामा बुढीगण्डकी जलविद्युत् आयोजना पनि हो । सो आयोजनाको प्रगति मात्रै ९.९ रहेको छ । सो आयोजनाको वित्तीय प्रगति पनि १० प्रतिशत मात्रै भएको छ । उत्तर दक्षिण कर्णाली करिडोरको काम पनि त्यस्तै देखिएको छ । सो आयोजनालाई पनि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भएपनि भौतिक प्रगति मात्रै १२ प्रतिशतको हाराहारीमा रहेको छ । आयोजनाको वित्तीय प्रगति भने ११ प्रतिशत छ । सो आयोजना सुरु भएको ९ वर्ष पूरा भएको छ । यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गको भौतिक प्रगति ४५ प्रतिशत देखिएको छ । सो आयोजना विगत १० वर्षदेखि सञ्चालनमा छ । पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति ४०.२ प्रतिशत रहेको छ । आयोजनामा चरम राजनीतिक हस्तक्षेप, सरकार बदलिएपिच्छे बदलिने आयोजना प्रमुख, गलत डिजाइनका कारण पनि आयोजनाको अवस्था दुरुह बन्दै गएको छ ।

Womui
Womui