आमाको पहलमा रोकियो छोरीको बालविवाह

178

जाजरकोट भदौ १५ । स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् ।शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया राधिका रोकायले कोहलपुर नगरपालिका–८ झरकट्टी निवासी १८ वर्षीय प्रेम बुढासँग भागेर कोहलपुरमा विवाह गरेका थिए ।

Child marriage

छोरीले यही भदौ १२ गते बालविवाह गरेको भन्दै रोकिदिन आमा कल्पना रोकायले सोही वडाका वडाध्यक्ष गोपाल नेपालीसमक्ष निवेदन दिएपछि सरोकारवाला निकायको सक्रियतामा बालविवाह रोकाइएको हो । घरायसी सामान खरिदका लागि थलह बजार पुगेकी राधिका रोकायाले बाँकेको कोहलपुरका प्रेम बुढासँग भागेर विवाह गरेकी हुन् ।

निवेदन दिएलगत्तै वडाध्यक्ष गोपाल नेपाली, वडा बाल संरक्षण समिति, प्रहरीको सक्रियतामा सो विवाह रद्द गराइ आफन्तको जिम्मा लगाइएको हो । विवाहित राधिकाले पनि गल्ती गरेको भन्दै बालविवाह रोक्ने अभियानमा आफू पनि लाग्ने बताइन् । यसअघि जिल्लामा एक दर्जन यस्तै खालका बालविवाह रोकिएका थिए ।

कानूनले दण्डनीय मानेको बालविवाह गर्ने र गराउनेलाई कुनै पनि हालतमा कानूनको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । हालै मात्र भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र उक्त संहिता विपरीत भएको विवाह स्वतः बदर हुने उल्लेख छ । संहिता विपरित कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

छेडागाड नगरपालिकाको २०७४ भदौ ५ को निर्णयअनुसार ९ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणाका लागि पहल भइरहेको छ। यसै क्षेत्रमा बाल संरक्षण तथा बालविवाह न्यूनीकरणका लागि सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्चले पनि एकीकृत परियोजनामार्फत लामो समयदेखि काम गर्दै आएका छन् ।

केही समयअघि मात्र त्यहाँका अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायले बालविवाह नगर्न र नगराउन सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस

Womui
Womui