एसियाली खेलकुदमा प्याराग्लाइडिङमा नेपाललाई रजत पदक

89

काठमाडौं, भदौ १३ (एजेन्सी) । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टबाट रजत पदक जितेको हो । सोही इभेन्टमा जापानले स्वर्ण जितेको छ । यसअघि टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोस्रो स्थानमा उक्लिएको थियो । नेपालको कुल २ हजार ७ सय ९८ अंक जोडेको थियो । पहिलो स्थानमा रहेको जापानको ३ हजार २ सय ९८ अंक थियोे ।

 

२ हजार १ सय ९२ अंकसहित दक्षिण कोरिया तेस्रो स्थानमा थियो । अन्य खेलहरुमा खराब प्रदर्शन गरेको नेपालले प्याराग्लाइडिङबाट पदक जित्ने आसा कायम राखेको थियोे । क्रस कन्ट्री इभेन्टमा नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिस्पर्धा गरेका थिए । क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो ।

प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा नेपाल एसियाको उत्कृष्ट राष्ट्र मध्ये एक हो । यसअघि प्याराग्लाइडिङमा नेपालले एक्युरेसीको पुरुष तथा महिलामा व्यक्तिगत तथा टिम इभेन्टमा प्रतिस्पर्धा गरेको थियो । एसियाली खेलकुदमा नेपालले पछिल्ला २ संस्करणमा १÷१ कास्य मात्र जित्न सफल भएको थियो । सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एसियाली खेलकुदमा नेपालका लागि दीपक महर्जनले बक्सिङबाट कास्य जितेका थिए । यस्तै सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा करातेकी विमला महर्जनले कास्य पदक हात पारेकी थिइन् ।
यसअघि नेपालले एसियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक सन् १९९८ मा सविता राजभण्डारीले जितेको रजत पदक हो । उनले तेक्वान्दोबाट पदक जितेकी थिइन् । यसअघि नेपालले बक्सिङ, कराते र तेक्वान्दोबाट पदक जितेको थियो । एसियाली खेलकुदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेल भएको छ । योसँग नेपालले नेपालको एसियाली खेलकुदमा २४औं पदक जितेको छ ।

Womui
Womui