नेपालद्वारा श्रीलंकालाई बिमस्टेकको परराष्ट्र मन्त्रीस्तरीय अध्यक्षता हस्तान्तरण

52

छिनछिन खबर
काठमाडौं, भदौ १३ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को १६ औँ मन्त्रीस्तरीय बैठकले श्रीलंकालाई परराष्ट्र मन्त्रीस्तरीय बैठक हस्तान्तरण गरेको छ । बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, भोलिदेखि सुरु हुने शिखर सम्मेलनको तयारी, मंगलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश भएको थियो । बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण बुधबारको बैठकले गरेको छ ।

बैठकबाट नेपालले बिमस्टेकको परराष्ट्र मन्त्रीस्तरीय अध्यक्षता श्रीलङ्कालाई हस्तारन्तरण गरेको हो । बैठकको अध्यक्षता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । बैठकमा बङ्गलादेशको नेतृत्व विदेशमन्त्री अबुल हसन महमुद अलि र भारतको प्रतिनिधित्व बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गरेका थिए ।यसैगरी म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय बैठकमा सहभागी थिए ।

भुटानको तर्फबाट भने विदेश सचिव सोनाम छोङले प्रतिनिधित्व गरे । बैठकको अध्यक्षता गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले उद्घाटन मन्तव्य व्यक्त गर्दै बिमस्टेक क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरण सङ्गठनको अबको कार्यसूची हुनुपर्ने बताएका थिए ।व्यापार र लगानीबाटै आर्थिक–सामाजिक रुपान्तरण हुने यथार्थ औँल्याउँदै उनले त्यसनिम्ति रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’ का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जाको र प्रविधिको अधिक उपयोगबाट मात्र सम्भव हुने बताए।सम्पर्क विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका मुख्य क्षेत्रमा सङ्गठनका सहायताका क्षेत्र केन्द्रित हुनुपर्नेमा पनि उनले जोड दिएका थिए । बिमस्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

Womui