कञ्चनपुर अपडेटः सामान्य बन्दै भीमदत्तनगर

122

कञ्चनपुर भदौ १३ ।  १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीकी निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो ।

शान्ति सुरक्षा नै खलबलिने स्थिति आएपछि गत शुक्रबार रातिदेखि विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू अहिले अवस्था सामान्य बन्दै गएपछि खुकुलो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।मङ्गलबार राति ८ देखि बुधबार बिहान ४ बजेसम्म यहाँ कफ्र्यू लगाइएको थियो । स्थिति सहज बनिरहेको बताउँदै प्रहरी उपरीक्षक कडायतले अवस्था सामान्य भएसँगै कफ्र्यू हटाइने बताए । सरकारले गठन गरेको उच्चस्तरीय छानविन समिति र जिल्ला आएको नयाँ नेतृत्वलाई बालिका हत्याकाण्ड छानविन गर्न दिन यहाँको वातावरण शान्तिपूर्ण बनाउन सबै क्षेत्र र तह तप्काबाट पहल भएको थियो ।

घटनामा संलग्न हुनसक्ने आशङ्कासहित प्रहरीले भीमदत्तनगरपालिका–१८ निम्बुखेडाका रोशनी बम र बबिता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ‘घटनाबारे धेरै कोणबाट गहनरूपमा अनुसन्धान हुँदैछ ।’ प्रहरी उपरीक्षक कडायतले भने, ‘बाह्य स्थिति सहज बनेपछि हामीलाई अनुसन्धान गर्न थप बल पुगेको छ ।’ एक हप्तादेखि बन्द रहेका यहाँका शैक्षिक सङ्घरसंस्था पनि मङ्गलबारदेखि खुलेका छन् ।आन्दोलनका क्रममा घाइते भएका आन्दोलनरत पक्ष र प्रहरीको भीमदत्तनगरदेखि काठमाडौँसम्म विभिन्न अस्पतालमा उपचार हुँदैछ । घाइतेको उपचार पनि सरकारले गर्ने भएको छ ।

रासस

 

Womui
Womui