निर्मला पन्तका बुवा छोरीको हत्यारा को हो भन्ने अझैं अन्योलमा

96

छिनछिन खबर
कञ्चनपुर भदौ ५ ।  १३ वर्षिया निर्मलाको हत्यामा प्रहरीले वास्तविक अभियुक्तलाई सार्वजनिक नगरेको भन्दै मंगलबार कञ्चनपुरमा विरोध कार्यक्रम गरिएको छ । निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा पक्राउ व्यक्तिविरुद्ध किटानी जाहेरी दिन प्रहरीले दबाब दिएको उनको परिवारले बताएको छ ।यो घटनामा प्रहरी अनुसन्धान चित्तबुझ्दो नभएको आरोप निर्मलाका बुवा एकराज पन्तले लगाउँदै आएका छन् । ’प्रहरीले आफूले समातेर ल्याएको मान्छेविरुद्ध किटानी जाहेरी देऊ भनिरहेको छ । मैले मानेको छैन । उसैले अपराध गरेको हो भन्ने प्रहरीले प्रमाण पनि दिएको छैन । विनाप्रमाण चिन्दै नचिनेको, कहिले देख्दै नदेखेको मान्छेलाई प्रहरीले भन्दैमा कसरी किटानी जाहेरी दिउँ ?’ उनले भने ।

कन्चनपुर, भिमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मलाको साउन १० गते बलात्कार र हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनाको २६ दिनपछि सोमबार प्रहरीले भिमदत्त नगरपालिका, बागफाँटाका दिलिपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । यो घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरिरहेको छ ।

 

विष्टविरुद्ध किटानी जाहेरी दिन सोमबारै जिल्ला प्रहरी कार्यालय बोलाएको पनि पन्तले बताए ।आफूले प्रहरीलाई दिएको जवाफ उद्धृत गर्दै उनले भने, ’म त किटानी दिन सक्दैन। त्यो मान्छेलाई कहिल्यै देखेको छैन । चिनेको पनि छैन । नामै थाहा छैन । उसैले अपराध गरेको हो भनेर प्रहरीले प्रमाण पनि देखाउँदैन ।

 

पन्तले यस्तो जवाफ दिएपछि काठमाडौंबाट गएका सिआइबी अिधकारीले भने, ’तपाईंहरुले किटानी दिनुभयो भने हामीलाई कारबाही गर्न सजिलो हुन्छ ।यति भन्दा पनि पन्त मानेनन् ।तारन्तार जिद्दी गरेपछि उनले भनेछन् । ’बरू मेरो छातिमा गोली ठोक्नू, तर म त्यस्तो व्यक्तिको नाममा किटानी दिन्नँ ।पक्राउ परेका व्यक्तिलाई आफूसँग कुरा गराउन पनि प्रहरीलाई आग्रह गरेको उनले बताए । ’मैले त्यो मान्छेसँग कुरा गराउनू भनेको थिएँ । उसले मेरो अगाडि उिभएर कसरी त्यो अपराध स्वीकार गर्दो रहेछ सुन्छु।

उसले स्वीकार गर्यो भने बल्ल जाहेरी दिउँला । मैले यसो भन्दा पनि उहाँहरु मान्नुभएन । खाली एकोहोरो किटानी जाहेरी दिन दबाब मात्र दिइरहनुभयो ।प्रहरी पक्राउ परेका विष्टलाई निर्मलाको परिवारसँग भेटाउन नमिल्ने भन्दै पन्छिएको थियो । बरु थप नयाँ प्रमाण फेला पर्छ कि भन्दै उनीहरूलाई पनि लिएर प्रहरी घटनास्थल गएको थियो। पन्त आफ्ना दाजुभाइसहित गएका थिए ।

 

’जानेबित्तिकै मलाई त प्रहरीको नाटकैजस्तो लाग्यो । जहाँ छोरीको साइकल भेटिएको थियो, त्यहाँबाट पारिपट्टि डिलमा एउटा कण्डमको खोस्टा भेटिया छ । एउटा च्यातिएको खल्तीको टुक्रा भेटिया छ । त्यसमा केही दाग छैन,’ उनले भने, ’ती एकदम सफा अवस्थामा छन् । यतिका दिनमा कति बारिस भैसक्यो, त्यसमा केही लागेको छैन । न हिलो छ न त धूलो । वरिपरिका अरू जिनिसमा दाग देखिन्छ, यिनमा भने किन छैन पन्तले भने ।

 

पन्तले यही प्रश्न सँगै घटनास्थल गएका प्रहरीलाई पनि सोधेका थिए । चित्तबुझ्दो जवाफ पाएनन् । उल्टो परिवारकै सदस्य भएर अनुसन्धानमा सघाउ नपुर्याएको आरोप लगाइएको उनले बताए ।’मैले त्यसरी सोध्दा उहाँहरूले ’तपाईंलाई प्रहरीमा विश्वासै छैन । हामीले गरेको काम तपाईंलाई केही पनि राम्रो लागेको छैन । तपाईंहरु आन्दोलनै गर्नेमा हुनुहुन्छ भने त्यही गर्नू’ भनेर जवाफ दिनुभयो,’ पन्तले जानकारी दिए ।

स्थानीयले पनि निर्मला हत्याका दोषी भन्दै प्रहरीले नक्कली मानिस खडा गरेको आरोप लगाएका छन् । प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै मंगलबार कञ्चनपुर बन्द छ ।प्रहरीका अनुसार निर्मलाको हत्या साउन १० गते दिउँसो सवा २ देखि ३ बजेभित्र भएको हो । उनी बिहान ११ बजेतिर साथी रोशनी बमको घर गएकी थिइन् । साँझसम्म नफर्केपछि परिवार र गाउँलेले खोजी गरे । भोलिपल्ट बिहान निम्बुखेडा खोलासँगैको उखुबारीमा उनी मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले पुष्टि गर्यो ।

 

घटनाको २३ दिनपछि गत शुक्रबार प्रहरीले विष्टलाई पक्राउ गरेको हो ।उनलाई निर्मलाको साइकल भेटिएको उखुबारीबाट ५० मिटर दुरीमा उभिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्ट ९ वर्षअघि आफ्नै भिनाजुलाई हत्या गरेर जेल परेका थिए ।निर्मला हत्या घटनास्थल हेर्दा विष्ट एक जनाले मात्र बलात्कार र हत्या गरेको नदेखिने स्थानीयको भनाइ छ । प्रहरीले मुख्य दोषी पत्ता लगाउन नसकेपछि पहिल्यै हत्यामा सजाय पाइसकेका व्यक्तिलाई उभ्याएको उनीहरुले आरोप लगाएका छन् ।

प्रहरीले निर्मला हराएलगत्तै पनि खोजबिनमा चासो नदिएको उनको बुवाले गुनासो गरेका छन् ।

Womui
Womui