आर्थिक बर्ष २०७३÷७४ मा वाणिज्य बैंक आम्दानी सन्तोषजनक, कुन बैंकले कति बाँडे लाभांश ?

172

प्रशिद्धिका खड्का
काठमाडौं, साउन २९ । आर्थिक वर्ष २०७३÷७४ मा २८ वाणिज्य बैंकमध्ये अधिकांशको आम्दानी सन्तोषजनक भएको छ । आम्दानी राम्रो भएकाले २१ बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । जसमध्ये सात बैंकहरुले बोनस शेयर मात्रै वितरण गरेका छन् भने १४ बैंकहरुले बोनस शेयर तथा नगद लाभांश वितरण गरेका छन् ।


लाभांश घोषणा गरेका धेरै वाणिज्य बैंकले साधारण सभाबाट सो लाभांश पारित गराएर वितरण पनि गरिसकेका छन् भने केहीले भने साधारण सभाबाट पारित गराए पनि वितरण गर्न बाँकी छ ।आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट तीन वाणिज्य बैंकले बोनस प्रस्ताव गरेका छैनन् भने कुमारी बैंकले बोनस प्रस्ताव गर्न अझै बाँकी रहेको छ । नेपाल बैंक, प्रभु बैंक र एनसीसी बैंकले सञ्चित जगेडा नोक्सानीमा रहेका कारण बोनस वितरण नगरेका हुन् । नेपाल बैंक र प्रभु बैंकले भने बोनसबिना नै साधारणसभा सम्पन्न गरिसकेका छन् ।
तीन वाणिज्य बैंकहरु कुमारी, सिभिल र एनसीसी बैंकले अहिलेसम्म आर्थिक वर्ष २०७३÷७४ को साधारण सभा आह्वान गरेका छैनन् । एनएमबि बैंकले साउन ३१ गते साधारण सभा आह्वान गरेको छ ।

सिभिल बैंकले गत असार ६ गते १०.२५ प्रतिशत बोनस प्रस्ताव गरेपनि अहिलेसम्म साधारण सभा आह्वान गरेको छैन । साउन ३१ गते साधारण सभाको गर्ने तयारी गरेको एनएमबी बैंकले पनि १५ प्रतिशत बोनश तथा ०.७९ नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।
कुमारी बैंकले पनि हालसम्म बोनस घोषणा गरेको छैन । बैंकले २० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजारबाट बोनस वितरण गरेर राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पुर्याउने योजना छ । यसअनुसार बैंकले कम्तिमा ११.६८ प्रतिशत बोनस वितरण गर्नुपर्ने देखिन्छ ।आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई सबैभन्दा बढी १०० प्रतिशत बोनस शेयर वितरण गरेको छ । त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।

नबिल बैंकले ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश तथा एभरेष्ट बैंकले ३३ प्रतिशत बोनस शेयर तथा १.७४ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
प्राइम बैंकले २७ प्रतिशत, हिमालयन बैंकले २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश, कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर बाँडेको छ । आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट एनआइसी एसिया बैंकले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद वितरण गरेको छ । २० औं साधारण सभाले पारित गरेको सो बोनस बैंकले वितरण पनि गरिसकेको छ ।ग्लोबल आइएमइ बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नै नगद लाभांश वितरण गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत बोनस शेयर र ०.८५ प्रतिशत नगद, नेपाल एसबिआइ बैंकले १५.४२ प्रतिशत बोनस शेयर र ०.८१ प्रतिशत नगद लाभांश, सानिमा बैंकले १८ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश, र एनएमबी बैंकले १५ प्रतिशत बोनस तथा ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस्तै माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनस शेयर र ६ प्रशित नगद वितरण गरेको छ । सनराइज बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस, जनता बैंकले १४.४० प्रतिशत बोनस, सिद्धार्थ बैंकले १४ प्रतिशत बोनस र बैंक अफ काठमाण्डूले १३.२५ प्रतिशत बोनस वितरण गरेका छन् ।यसैगरी सिभिल, मेगा,लक्ष्मी र सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । सिभिल बैंकले १०.२५ प्रतिशत र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जर गरेको मेगाले १०.७५ प्रतिशत बोनस, लक्ष्मी बैंकले १० प्रतिशत बोनश शेयर र ०.५३ प्रतिशत नगद लाभांश, र सेञ्चुरी कमर्सियल बैंकले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नै नगद लाभांश वितरण गरेको छ ।

Womui
Womui