वीरगन्जमा मरिच तस्करीको ‘सेटिङ’

122

छिनछिन खबर
काठमाडौं, साउन २५ ।गत जेठमा जिल्ला प्रहरी कार्यालय पर्साले दुई दिनमा १४ हजार ७५ किलोग्राम मरिच बरामद गर्यो। तेस्रो देशबाट आयातित उक्त मरिच लुकाइछिपाइ भारत तस्करी गरिरहेको अवस्थामा प्रहरीले समातेको थियो। प्रहरीले जेठ २० मा पर्सा बिन्दवासिनी गाउँपालिका ४ अमरपट्टीबाट १८७५ किलोग्राम र वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट नजिकबाट १२ हजार २ सय किलो मरिच बरामद गरेको थियो। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार मरिच रक्सौलतर्फ लैजान लागिएको बेला समातिएको हो।

दुई दिनमा भएका यी दुबै घटनापछि प्रहरीले मरिच तस्करीको जालो खोज्न सुरू गरेको छ। पछिल्लो समय तेस्रो देशबाट मरिच आयात गर्ने क्रम बढेको छ र नेपालका लागि भनी अत्याधिक मात्रामा ल्याइने मरिच भारत तस्करी हुने प्रहरीको दाबी छ। एसपी ढकालका अनुसार दुबै घटनामा चालक समातिए। समातिनेमा भारत उत्तरप्रदेश कानपुर जिल्ला, थाना सचेन्डी भौतिग्राम पञ्चायत बस्ने धर्मेन्द्र कुमार र बिहार बेतिया जिल्ला सिक्टा पुरैनिया ७ का नन्दलाल यादव थिए। ‘हामीले तस्करीका सम्भावित क्षेत्रहरूमा निगरानी बढाएका छौं, तर यसको आयात निकै बढी हुने र तस्करी पनि उति नै हुने गरेका कारण प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन,’ ढकाल भन्छन्, ‘सुपारीपछि ठूलो परिमाणमा अहिले मरिच कारोबार हुन्छ।’ नेपालले तेस्रो देशबाट आयातित सामान पुनः निकासीका लागि भन्सार जाँचपास नदिने भएकाले मरिच लुकाइछिपाइ भारत तस्करी हुने गरेको हो। भारतसँग सिमा जोडिएका नेपालस्थित नाका हुँदै तस्करले मरिच भारतीय बजारमा पुर्याउने गरेका छन्।

पर्सा उद्योग वाणिज्य संघका अनुसार अहिले सुपारी र मरिच तस्करीको कहानी उस्तै हो। सरकारले सुपारीमा भन्सार दर बढाएपछि मरिच तस्करी मौलाएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार पहिलेका वर्षभन्दा मरिच आयात उच्च छ। पर्सा भन्सारको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३र७४ मा ९ लाख ६७ हजार ४२ किलो मरिच आयात भएको थियो। आर्थिक वर्ष २०७४र७५ मा मरिचको आयात बढेर ६७ लाख ४७ हजार १८९ किलो पुगेको छ। तथ्यांकले मरिच आयात परिमाण झन्डै आठ गुणा बढेको देखाउँछ। नेपालको एक प्रमुख नाका वीरगन्ज भन्सारमा आयातित २० प्रमुख सामग्री सूचीमा मरिच नवौं स्थानमा छ। पर्सा भन्सारका सूचना अधिकृत सन्तोष यादव भन्छन्, ‘मरिचको आयात अत्यधिक नै बढेको हो।’ भन्सारहरूको प्रमुख सूचीमा पहिले सुपारी आयात पर्थ्यो। सुपारीमा कडाइसँगै भन्सार महसुल दर बढाइएपछि आयात घटेको छ। व्यवसायीका अनुसार सुपारीको ठाउँ मरिचले लिएको छ।

तेस्रो देशबाट प्रति मेट्रिक टन ३ लाख ७० हजार रुपैयाँ हाराहारीमा आयात हुन्छ। नेपाल ल्याइएको मरिच ७२०० प्रतिकेजी भारतमा बिक्री हुने गरेको छ। यस हिसाबले मरिच तस्करीमा फाइदा उच्च छ। मरिचको प्रमुख उत्पादन भारत हो। दक्षिण भारत मरिच उत्पादनले कहलिन्छ। त्यहाँ मरिचबाट उत्पादन हुने सामानहरूका उद्योग छन्। मरिच प्रायः इन्डोनेसिया, मलेसिया, भियतनामबाट आयात गरिन्छ। भारतले स्थानीय उत्पादन प्रोत्साहित गर्न निर्यातमा प्रतिबन्ध र आयातमा कडाइ गरेको छ। नेपालमा भने मसलाका रुपमा मात्र मरिच प्रयोग गरिन्छ। व्यवसायीका अनुसार नेपालमा मरिच प्रयोग आयात हिसाबले अत्यधिक न्यून छ। वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव सुबोध गुप्ता मरिच र सुपारी आयात तस्करी उस्तै प्रकृतिको बताउँछन्। सुपारी आयातमा सरकारले ४० प्रतिशत भन्सार महसुल पुर्याएपछि तस्कर मरिचतिर आकर्षित हुन थालेका हुन्। ‘नेपालमा आयात बढी छ, तस्करी भएर अन्यत्र गइरहेको छ,’ उनी भन्छन्, ‘प्रयोगको नापजोख गरेर सरकारले आयात कडाइ गर्नुपर्छ।’ उनका अनुसार खपत मूल्यांकन गरी मरिचमा परिमाण दर निर्धारण गर्नुपर्छ।

‘सरकारले भन्सार सस्तो बनाएर आयातलाई प्रोत्साहित गर्छ, त्यही चिज तस्करी भइरहेको छ, त्यसलाई निरुत्साहित खोई?,’ गुप्ताले भने। नेपालमा मरिच खेती झापामा न्यून मात्रामा हुन्छ। नेपाली बजारमा पाइने मरिच तेस्रो देशकै हो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधानका अनुसार तस्करी भएर जाने वस्तुमा परिमाण दर प्रणाली (उत्पत्तिको प्रमाण पत्र जारी) लागू गरी आयात नियन्त्रण गर्दै जानुपर्छ। सरकारले भने कतिपय वस्तुमा चोरी गर्ने बनाइदिने गरेको छ। ‘यो मरिच र सुपारी दुबैमा लागू छ,’ प्रधानले भने। प्रधानका अनुसार वीरगन्जमा मात्र नभएर विराटनगर र काँकडभिट्टा नाकामा पनि मरिचको धन्दा मौलाउन थालेको छ। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यकारिणी सचिव श्याम भण्डारीका अनुसार सुपारी तस्करी नियन्त्रण हुँदै गएपछि त्यसका कारोबारीहरू मरिचतिर सरेका छन्।

Womui
Womui