आजदेखि युएइमा आममाफी लागू, नेपालीले पनि फाइदा लिन सक्ने

48

छिनछिन खबर
काठमाडौं, साउन १६ । संयुक्त अरब इमिरेट्स (युएइ) सरकारले अवैध रूपमा रहेका विदेशी नागरिकको सहजताको लागि अगस्ट १ देखिन आममाफी दिएको छ । तीन महिनासम्मका लागि दिइएको आममाफीबाट नेपालीले समेत लाभ लिन सक्नेछन् । युएइस्थित नेपाली दूतावासले आममाफीको सक्दो उपयोग गर्न आग्रह गरेको छ ।


आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएइमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजाय आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएइमै काम गर्न पाउने छन् । नेपाली दूताबासले गैरकानूनीरुपमा युएइमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्तिमार्फत आग्रह गरेको छ । दूताबासले युएइभित्र रहेका सबै अवैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ । करिब चार लाख नेपाली कार्यरत रहेको युएइमा २० हजार जति नेपाली अवैध रूपमा बस्दै आएको अनुमान गरिन्छ ।

युएइले गैरकानूनी रुपमा रहेका नेपालसहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे नेपाली दूतावासलाई समेत यो सुविधाको फाइदा लिन जानकारी गराइसकेको छ । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा गएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

Womui
Womui