डा. केसी र सरकार पक्षबीचको वार्ता असफल

53

छिनछिन खबर

काठमाडौं, साउन ९ । अनसनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज दोस्रो पटक भएको वार्ता पनि असफल भएको छ । सरकारी पक्षले डा केसीले उठाएका प्रमुख मागका विषयमा कुनै पनि कुरा गर्न नचाहेपछि वार्ता असफल भएको हो ।डा केसीले विधेयकका २५ वटा बुँदामा संशोधन गर्नुपर्ने माग राखेका छन् । तर, सरकारी टोलीले उक्त विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो । केसी पक्षका वार्ता टोलीले अब आफूहरूले दिएका सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा पास गर्ने प्रतिबद्धता आएपछि मात्र बार्तामा बस्ने जनाएको छ ।

 

‘डा केसीको अनसन २६औं दिनमा पुगिसक्दा पनि सरकार मागका विषयमा गम्भीर नभएको डा. अभिषेकराज सिंहले बताए । उनले डा केसीले वार्ताका लागि लिएको लचकताको खिल्ली उडाइएको जनाएका छन् । डा केसीको ७ बुँदे मागको पहिलो नम्बर बुँदामा नै चिकित्सा शिक्षा विधेयकको विषय छ । जसमा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय शय्याको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय छन् ।

डा केसीका माग पूरा गर्न आज दिउँसो साढे १ बजे पनि वार्ता भएको थियो । त्यो भन्दा अगाडि प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, सुवास नेम्वाङ, केदारभक्त माथेमा, डा धर्मकान्त बास्कोटा र डा दिव्यासिंह साहबीच बालुवाटारमा छलफल भएको थियो । मगंलबार डा. केसीको बार्ता टोलीले नेम्वाङलाई भेटेर के के विधेयकमा संशोधन गर्ने लिखित प्रस्ताव नै बुझाएको थियो । साँझ दुई बार्ता टोलीबीच डा. केसीका अन्य मागबारे छलफल गरेको थियो, जसमा सहमतिका नजिक पुगेका थिए । तर बुधबार बालुवाटारमा भएको छलफलले डा. केसीका समर्थकलाई निराश बनायो ।

Womui
Womui