उपमहानगरपालिकाको राजपत्र सार्वजनिक

149

नेपालगन्ज, साउन ८-
नेपालगन्ज उपमहानगरपालिकाले ‘नेपालगन्ज राजपत्र’ सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यविधी र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो । प्रमाणीकरण भएका २७ वटा कानूनको मंगलबार प्रतिनिधी सभाका सदस्यद्धय महेश्वर गहतराज अथक र नन्दलाल रोकाय, प्रदेश सभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवस्तव, नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी र उपप्रमुख उमा थापामगरले संयुक्त रुपमा राजपत्र सार्वजनिक गरेका हुन् ।


राजपत्र सार्वजनिकरण तथा सम्मान कार्यक्रममा उपमहानगरपालिकाको समग्र विकासमा विभिन्न क्षेत्रबाट सहयोग तथा योगदान पु¥याउने २८ जना व्यक्ति तथा संघ, संस्थालाई पनि कदर पत्र र नगदसहित सम्मान गरिएको थियो । राजपत्रमा आर्थिक ऐन, २०७४, आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको कानून, २०७४, विनियोजन ऐन, २०७४, सहकारी ऐन, २०७४, न्याययिक समिति कार्यविधी ‘व्यवस्थित गर्न बनेको’ ऐन २०७५, प्रशासकिय कार्यविधी (नियमति गर्ने) ऐन, २०७५, नगरसभा सञ्चालन कार्यविधी, २०७४, रेडियो तथा एफ.एम.सञ्चालन तथा व्यवस्थापन कार्यविधी, २०७४, अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधी २०७५ लगायत २७ वटा रहेका छन् ।
प्रमुख अतिथी एवम् प्रतिनिधी सभाका सदस्य अथकले जनताका लागि जनप्रतिनिधीद्धारा बनाइएको कानून कार्यान्वयनको प्रमुख दायित्व उपमहानगरपालिकाको भएको बताए ।

कानूनले नै स्थानीय तह र जनता बलियो हुने भन्दै यसको कार्यान्वयनमा पनि हातेमालो हुनुपर्ने उनले बताए । प्रतिनिधी सभाका अर्का सदस्य रोकायले राजनीतिक खिचातानीले विकास नहुने भन्दै विकासमा साझा मुद्दा पहिचान गरेर अघि बढनुपर्ने आवश्यक्ता औल्याए । कानून र प्रक्रियाले नै विकासको गति बढाउने भएकाले यसको अक्षरस पालनु गर्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य गौतमले जनप्रतिनिधी र कर्मचारीबीचको सौहार्द सम्बन्धले नै सेवा प्रवाह प्रभावकारी हुने बताए । नगर प्रमुख राणाले कानून निर्माणले सेवा प्रवाहसँगै विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगर उपप्रमुख थापामगरले कानून सार्वजनिकतासँगै कार्यान्वयन र अपनत्वबोध गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिईन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले कानून निर्माणले कर्मचारीलाई काम गर्न र जनतालाई सेवा प्रवाह गर्न सहज र प्रभावकारी हुने बताए । सो कार्यक्रममा जिल्ला न्यायाधीश विष्णु सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका नेता अशोक कोइराला, नेपाली कांगे्रस बाँकेका सभापति किरण कोइराला, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्रकुमार पौडेल, संघीय समाजवादी फोरमका लक्ष्मीनारायण बर्मा, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष सपना भट्टराई, वडा नम्बर १२ का अध्यक्ष बुद्धीसागर सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपमहानगरपालिकामा कार्यरत कर्मचारी, अवकाश प्राप्त कर्मचारी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी दाता, साझेदारी संस्था, सफल उद्योगी गरि २८ जनालाई नगदसहित सम्मान गरियो ।

 

Womui
Womui