बजारमा थरीथरीका आँप, तर कसरी चिन्ने ?

184

काठमाडौं, साउन ७ (एजेन्सी) । फलफूलहरु मध्ये आँपलाई राजा फलका रुपमा लिइन्छ । अहिले गर्मीको मौसम, आँप पाइने सिजन हो । तपाई आँप खान मन पराउनु हुन्छ भने यो सिजनमा पक्कै पनि खुशी हुनुहुन्छ होला । अहिले बजारमा आँपले राम्रो स्थान पाएको देख्न सकिन्छ । तपाई घर घरमा पनि विभिन्न जातका आँप भन्दै व्यापारीले बेच्न ल्याएका हुन्छन् । तर, आँपका विभिन्न जातलाई कसरी चिन्ने त ?
आँपका केही जात यसरी चिन्न सकिन्छः


दशहरी
यो बजारमा आउने आँप मध्ये एक प्रख्यात आँपको जात हो । यो आँपको रुख मध्यम आकारको हुन्छ । यो आँप सिधा, फल मध्यम, फलमा नाक नभएको लाम्चो, गुदी पहेंलो, रेशाविहीन ठोस गुदी, स्वाद अति मीठो, चिल्लो बोक्रा भएको सुगन्धयुक्त हुन्छ । भण्डार क्षमता राम्रो भएको मध्यको मौसमी जातको आँप हो ।

मालदह
रुख मध्यम, फल मध्यम, बोक्रा पातलो र नरम, गुदी पहेंलो, सुगन्धित रसिलो र मिठो स्वाद हुन्छ । यो आँप भण्डारको क्षमता भने कम हुने मध्य मौसमी जातको आँप हो ।

बम्वै ग्रिन
रुख मध्यम र सिधा, मध्यम अण्डा आकारको फल, वाह्य रङ स्याउ जस्तो हरियो, गुदी सुन्तला रङको रसदार र स्वादिलो, थोरै रेशा भएको हुन्छ । यो आँपको भण्डार क्षमता अति नै उत्तम हुनुपर्छ ।

चौसा
यो आँपको रुख अग्लो र हाँगा फिजिएको हुन्छ । यसको फल केही ठूलो लगभग ३ सय ५० ग्राम, करिब करिब लाम्चो आकारको, गुलियो, फल रसदार, कम रेसा भएको, पहेँलो रङ गाढा हुन्छ । यो साउन महिनातिर पाक्ने पछौटे जातको र भण्डार क्षमता राम्रो भएको आँपका रुपमा चिनिन्छ ।

तोतापरी
यो आँप सुख्खा क्षेत्रको लागि सुहाउँदो र पुड्को मध्यम खालको आँप हो । यो आँप सिधा, फल मध्यमदेखि ठूलो आकारको, बाङ्गोटिङ्गो आकारको सतह नरम, बोक्रा मध्यम बाक्लो, गुदी सुनौलो पहेँलो र रसदार मिठो स्वाद, रेशा नभएको बढी फल्ने आँप हो । कम भण्डार क्षमताको भएको पछौटे जात आँप हो ।

कृष्णभोग
यो आँपको रुख मध्यम हुन्छ । यो आँपको आकार लगभग करिब करिब गोलो र बोक्रा बाक्लो भएको हुन्छ । साथै गुदी हल्का पहेंलो, रसदारयुक्त मीठो स्वादको हुन्छ । यो आँपको भण्डार क्षमता उत्तम भएको अगौटे जातको आँप हो ।

फनली
यो ठूलो रुख हुने पुरानो जातको आँप हो । लाम्चो आकारमा हुने फल ५ सय ग्राम सम्मको तौल हुन्छ । साथै गुदी गुलियो र रेशाविहीन हुन्छ । यसलाई फर्सी आँपपनि भनिन्छ र यो पछौटे जातको आँप हो ।

आँप खाँदा के फाइदा हुन्छ ?
आँपमा कार्वोहाईडेट, प्रोटिन कोलेष्ट्रोल, डाण्टरी रेशा, भिटामिनहरु सी, ए, ई र के, सोडियम, पोटासियम, क्याल्सियम लगायतको थुप्रै तत्वहरु पाउन सकिन्छ ।

Womui
Womui