ऊर्जामा सहकार्य गर्न बंगलादेशलाई नेपालको प्रस्ताव

62

छिनछिन खबर
काठमाडौँ, साउन ४ । सरकारले ऊर्जा क्षेत्रमा सहकार्यका लागि बंगलादेशसँग प्रस्ताव गरेको छ । नेपाल जस्तै चरम ऊर्जा संकटमा रहेको बंगलादेशलाई नेपालको ऊर्जा क्षेत्रमा सहकार्य एवम् लगानीका लागि आग्रह गरेको हो ।विगत केही वर्षदेखि नै ऊर्जा क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरिएको भएपनि राजनीतिक अस्थिरता, नीतिगत रुपमा अस्पष्टताका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

बंगलादेशलाई आगामी दश वर्षभित्र थप २० हजार मेगावाट बराबरको ऊर्जा आवश्यक पर्ने त्यहाँको सरकारी एजेन्सीहरुले जानकारी दिएका छन् । त्यसका लागि सबैभन्दा उपयुक्त स्थान भनेकै नेपाल रहेकोमा बंगलादेशी सरकार सहमत रहेको छ । तर, बंगलादेशमा विद्युत लैजानका लागि सबैभन्दा ठूलो समस्या प्रसारण लाइन नै रहेको छ । नेपाल र बंगलादेशको दूरी मेचीनगर भन्सारबाट २७ किलोमिटर रहेको छ । तर, बीचमा भारत रहेका कारण उसले प्रसारण लाइन निर्माण गर्न नदिए वा प्रसारण प्रणालीमा सहयोग नगरेको खण्डमा के गर्ने भन्ने बारेमा कुनै निष्कर्षमा पुग्न सकिएको छैन ।

दुवै देशका सरकारी अधिकारीले भने भारतसँग सहमतिका आधारमा नै प्रसारण लाइन प्रयोग वा नयाँ निर्माणको विषयमा सहमति जुट्ने विश्वास लिएका छन् । पछिल्लो दिनमा प्रसारण लाइन प्रयोग गरे बापत प्रसारण शुल्क तिरेरपनि विद्युत् प्रवाह गराउन सकिने व्यवसायिक वातावरण तयार भएको छ । सोही आधारमा नेपाल र बंगलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण बनाउन लागिएको हो ।

विद्युत आदानप्रदान गर्ने बारे भारत र चीनसँग भएको सैद्धान्तिक सहमतिपछि अब प्रक्रिया बंगलादेशसँगपनि सुरु गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेश सरकार, त्यहाँका व्यापारी तथा व्यवसायी समेत तयार देखिएका छन् । भारतसँग ठूलो मात्रामा विद्युत खरिद गरिरहेको बंगलादेशले फरक स्रोतबाटपनि विद्युत आयात गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउन सहमति जनाएको छ ।

बंगलादेशी दूतावासलेपनि ऊर्जा क्षेत्रमा सहकार्यका लागि पटक–पटक नेपालका अधिकारी र सम्वद्ध पदाधिकारीसँग निरन्तर छलफल गरिरहेको छ । नेपालमा विदेशी लगानी ल्याएर भएपनि ऊर्जाको विकास गर्ने र त्यसमा बंगलादेशलाई समेत सहभागी गराउन लागिएको बताइन्छ । काठमाडौँमा सम्पन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को सम्मेलनले पारित गरेको अवधारणामा सार्क क्षेत्रीय प्रसारण प्रणाली तथा ग्रीड निर्माण गरिने विषय समावेश छ । सोही अवधारणाका आधारमापनि बंगलादेशलाई विद्युत बेच्न सकिने निष्कर्षमा सरकार पुगेको छ ।

ऊर्जा मन्त्रालयका अनुसार विद्युत विकासमा सहकार्य तथा लगानीका विभिन्न आयामहरुमा छलफल गर्न बंगलादेशका विद्युत ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद नेपाल आउन लागेका छन् । ऊर्जा मन्त्री वर्षमान पुनले हमिदलाई केही समय पहिले नेपाल भ्रमणको निम्ता दिएका थिए । बंगलादेशका मन्त्री हमिद आगामी साउन २४ गते नेपाल भ्रमणमा आउन लागेको ऊर्जा मन्त्रालयका अधिकारीले पुष्टि गरेका छन् । सो अवसरमा नेपाल र बंगलादेशबीच विद्युत व्यापार सम्झौता समेत गर्ने तयारी गरिएको छ । त्यस्तो सम्झौता भारतसँग भएपनि हालसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपाल र बंगलादेशबबीच समग्र ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

बंगलादेश सरकारले नेपालको विद्युत लैजान भारतको बाटो प्रयोग गर्ने बारेमा भारतसँग कुरा गरिरहेको र सहमति हुने चरणमा रहेको प्रतिक्रिया दिंदै आएको छ । नेपालका जलविद्युत आयोजनामा सोझै लगानी गर्ने, संयुक्त लगानी गर्ने वा कुनै अन्य विकल्प निकालेर सहकार्य गर्ने विषयमा फरक–फरक कोणबाट छलफल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

Womui
Womui