आर्मीको हेलिकप्टर चढेर डाक्टर केसी काठमाडौं हिँडे स्थानीयको अवरोध छिचोल्न केही राउण्ड अश्रुग्यास प्रहार

138

छिनछिन खबर
जुम्ला, साउन ३ ।२० दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी सरकारी हेलिकप्टर चढेर काठमाडौं उडेका छन्।स्वास्थ्य स्थिति बिग्रदै गएपछि डा. केसीलाई थप उपचारका लागि स्तरीय अस्पतालमा राख्ने भन्दै सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो।डाक्टर केसीलाई अस्पतालबाट बाहिर निकालेपछि स्थानीयले घेरेका थिए। स्थानीयको भीड तितरबितर पार्ने प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो।

भीड छिचोलेर डाक्टर केसीलाई आर्मी ब्यारेकमा राखिएको हेलिकप्टरमा राखेर काठमाडौं लगिएको छ। डाक्टर केसीलाई बोकेर उडेको हेलिकप्टरले काठमाडौंको कुन अस्पतालमा केसीलाई लिएर जाने हो टुंगो भएको छैन।सेनाको हेलिकप्टर जुम्ला पुगेपछि खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त भएको थियो।प्रहरीले अस्पतालमा बल प्रयोग गरेपछि डाक्टर केसीले ‘अस्पतालमा गुन्डागर्दी नगर म काठमाडौं जान तयार छु’ भनेका थिए।त्यसैबीच प्रहरीले अस्पताल भित्र रहेका डाक्टर, नर्स र विद्यार्थीमाथि बल प्रयोगका क्रममा तीन जना डाक्टरसहित दर्जनौ विद्यार्थी, विरामी कुरूवा र एक जना प्रहरी घाइते भएका थिए।

अस्पतालका उपकरण तथा भौतिक संरचनामा क्षति पुगेको छ। झ्याल ढोकाका सिसा फुटेका छन्। प्रहरीले चलाएको गोलीले आफूहरूबीच सादा पोशाकमा रहेका एक प्रहरी घाइते भएको विद्यार्थीले जनाएका छन् भने प्रहरीले गोली नचलेको दाबी गरेको छ।जुम्ला प्रहरी प्रमुख तपन दाहालले आफ्ना प्रहरी जवानको छातिमा गोली नभएर सिसाको टुक्रा पसेको बताए।प्रहरीको बल प्रयोग पछि जुम्ला अस्पताल ’रणसंग्राम’ जस्तो बनेपछि डाक्टर केसीले सरकारी हेलिकप्टर चढेर काठमाडौं आउन इन्कार गरेका थिए। तर अस्पताल प्रशासन र सरकारी पक्ष तथा डाक्टर केसीबीच भएको छलफलपछि केसी काठमाडौं आउन तयार भएका हुन्।केही बेरअघि अस्पताल परिसरमा पत्रकारहरूसँग कुरा गर्दै डाक्टर केसीले आफू अहिले नगए प्रशासनले जबरजस्ती गर्ने धम्की दिएकाले जान तयार रहेको बताएका हुन्।

‘म अहिले नगए यहाँको स्थिति यो भन्दा जटिल हुन्छ, प्रशासनले मलाई जबरजस्ती पठाउन खोज्छ त्यसैले म यो भन्दा बढी तनाव भएको हेर्न चाहन्न बरू काठमाडौं जान्छु,’ केसीले भने।केसीले आफू काठमाडौं गए पनि आफ्ना मागका विषयमा कुनै परिवर्तन नहुने बताए।‘म काठमाडौं गए पनि मेरा मागका विषयमा कुनै तलमाथि हुन्न, माग पुरा भएरै छोड्छ,’ उनले भने।स्थानीयले पनि डाक्टर केसीको जीवन बाच्नुपर्ने भन्दै काठमाडौं पठाउन तयार भएको थियो।उनलाई राम्रो उपचार चाहिएको भन्दै सरकारले जबरजस्ती उठाएर भएपछि काठमाडौं ल्याउने भन्दै आज बिहान हेलिकप्टर पठाएको थियो।

Womui
Womui