आजदेखि कोटेश्वर जगाती सडकमा कार र मोटरसाइकललाई छुट्टै लेन, टाइमकार्ड लागू

53

छिनछिन खबर
काठमाडौं ,साउन १।आजदेखि कोटेश्वर–जगाती सडकमा मालबाहक गाडी तथा बस र कार तथा मोटरसाइकलका लागि छुट्टाछुट्टै लेन तोकिएको छ। दुर्घटना न्यूनीकरण तथा ठूला गाडीबाट साना सवारी साधनलाई हुने बलमिच्याई रोक्न ट्राफिक प्रहरीले लेन नै छुट्याएको हो।महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार पहिलो तथा बायाँतर्फको लेन मालबाहक गाडी र दायाँ अर्थात् दोस्रो लेन कार तथा मोटरसाइकलका लागि छुट्याइएको छ।

आज दिनभर त्यससम्बन्धि जनचेतना कार्यक्रम लागू गर्न लागिएको छ। मंगलबारदेखि नै लेनको नियम लागू हुने ट्राफिकको भनाइ छ। अर्काको लेनमा चलाउने सवारी साधनलाई कारबाही गरिने ट्राफिक महाशाखाले जनाएको छ।गत बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि लेन छुट्याउने निर्णय भएको थियो। ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरलाई ठक्कर दिएपछि यस्तो नियम लगाइएको हो। यसले साना सवारीसाधन प्रयोग गर्नेहरुलाई राहत पुग्नेछ।साथै ठूला गाडीलाई तीव्र गतिमा चलाउन समेत नदिने ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि गत बुधबारदेखि ट्राफिक महाशाखाले बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन रोक लगाएको छ। यद्यपि सो नियम पूर्ण रुपमा कार्यान्वायन हुन सकेको छैन।

टाइमकार्ड लागू
उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्ड लागू गरिने भएको छ।भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि नै टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यान लगायतका सवारीसाधन प्रतिघन्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ।महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त जगाती–कोटेश्वर क्षेत्रमा तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेपछि उक्त निर्णय गरेको बताउँछन्। ’टाइम कार्ड लागू र मालबाहक सवारीसाधनलाई सडकको बायाँ भागबाट गुडाउन लगाएपछि दुर्घटनामा कमी आउनेछ,’ उनले भने।महाशाखाले अहिले टाइम कार्ड जगाती–कोटेश्वर क्षेत्रको ९.७ किलोमिटर क्षेत्रमा लागू गर्न लागेको हो। हाल देशभरि ३० लाख ८० हजार सवारीसाधन रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्।

Womui
Womui