प्रहरी हस्तछेपको बेवास्ता गर्दै डा. गोविन्द केसीले जुम्लामा सुरु गरे अनसन

148

छिनछिन खबर
जुम्ला, असार १६ । प्रहरी हस्तछेपको बेवास्ता गर्दै डा. गोविन्द केसीले शनिबारदेखि जुम्लामा आमरण अनसन थालेका छन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन ।

निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय लिएको थियो । डा. केसीले प्रहरी हिरासतमै अनसन थाले । त्यसपछि प्रहरीले कभर्ड हलमा पु‍¥याएको छ । डा. केसी सोही स्थानमा अनसनरत छन् । डा. केसीले चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका ७ बुँदे माग राखेका छन् ।

मागहरु
१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।
२) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस लगायत स्नातक तहका विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार र जनशक्ति कायम गरियोस् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र गेटा मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गरियोस् ।
३) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
४) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
५) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
६) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्य्विधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् । आगामी शैक्षिक सत्रदेखि सबै निजी संस्थाहरुमा समेत चिकित्साको स्नातकोत्तर तह निःशुल्क गरियोस् ।
७) पठनपाठन ठप्प भइसकेको जानकी मेडिकल कलेजका विद्यार्थीहरुलाई उचित व्यवस्थापन गर्दै विद्यार्थीहरुलाई अलपत्र पार्नमा जिम्मेवार व्यक्तिहरुलाई तत्काल कारवाही गरियोस् । तथा प्रदेश २ मा सरकारी मेडिकल कलेज खोल्ने काम तत्काल सुरु गरियोस् ।

Womui
Womui