पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक खण्ड सुचारू

107

छिनछिन खबर
चितवन, असार १३ । बुधवार बिहान चारकिलोमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो । पानी पर्नासाथ पहिरो खस्ने गर्छ । सो सडकको अन्य भागमा पहिरो रोक्न काम भइरहेको भए पनि हाल प्रयोग भएका प्रविधिले त्यहाँ काम गर्न नमिल्ने उनले बताए ।

भित्तामा खोपेर अड्याउन नमिल्ने भएकाले सो ठाउँमा काम गर्न गाहे्र भएको हो । यसअघि पनि पानी पर्नासाथ सो ठाउँमा पहिरो खस्ने गरेको छ । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो। बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी व्यहोरेका थिए।

सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो पनि एउटा हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।सडकको पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

Womui
Womui