गृहनगरमा शहरी विकास मन्त्री राईसँग विकासको अपेक्षा

145

‘नेपालगन्ज मेगा सिटीमा पर्ने सम्भावना छ’ : राई
नेपालगन्ज, असार ३-
सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग स्थानीय जनप्रतिनिधि र कार्यालय प्रमुखले विकासको अपेक्षा राखेका छन् । जिल्ला समन्वय समितिको सभाकक्षमा आइतबार आयोजित कार्यक्रममा अधिकांसले जिल्लाबासी भएको नाताले मन्त्री राईसँग विकासको अपेक्षा धेरै गरेको बताए । कार्यक्रमको अध्यक्षता ग्रहण गरेका जिल्ला समन्वय समितिका अध्यक्ष अजयकुमार श्रीवास्तवले मन्त्री राईको पहलमा जिल्लाको डुवान समस्यालाई दिर्घकालिन रुपले समाधान गरिनुपर्ने माग गरे ।

समितिका उपप्रमुख ज्ञानेन्द्रकुमार चौधरीले गरिवका लागि आवासको व्यवस्था कार्यक्रम गरिदिन आग्रह गरे । कोहलपुर नगरपालिकाका उपमेयर सञ्जुकुमारी चौधरीले कोहलपुरमा बढ्दो शहरीकरण भईरहेकाले केन्द्रिय सरकारको बजेटबाट विकास गर्न पहल गरिदिनुपर्ने आग्रह गरिन् । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद साह र राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बिद्युत र बाढीको प्रमुख समस्या रहेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरे । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित सुशिल कोईराला क्यान्सर अस्पताल चाडै सञ्चालनमा आउन लागेको बताए ।

स्थानीय जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखको सुझाव पश्चात सम्बोधन गर्दै मन्त्री राईले नेपालगन्जको समग्र विकासका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । नेपालगन्जबासी भएको नाताले सबै मिलेर नमुना शहरको रुपमा विकास गर्नुपर्ने बताए । सरकारले आगामी साउन पहिलो साताभित्र मुलुकका ७ वटा शहरलाई मेगा सिटी घोषणा गर्ने जानकारी दिदै भने, ‘नेपालगन्ज पनि मेगा सिटीमा पर्ने सम्भावना प्रवल रहेको छ ।’

Womui
Womui