डुडुवा गाउँपालिकामा खुला रक्तदान

161

नेपालगन्ज, जेठ ३१-
विश्व रक्तदाता दिवसको अवसरमा डुडुवा गाउँपालिकामा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा नेपालगन्ज र डुडुवा गाउँपालिकासँगको सहकार्यमा खुला रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला समन्वय समितिका उप–प्रमुख एवम् प्रमुख अतिथी ज्ञानेन्द्रकुमार चौधरीले मावनताको लागि रक्तदान गर्न सोच एवम् भावना परिवर्तन ल्याउन आग्रह गरे । बिरामीलाई रगतको आभाव भएमा मान्छे कै रगत जरुरी हुने भएकोले हरेक स्वस्थ्य व्यक्तिले रक्तदानगर्न जोड दिए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपाध्यक्ष अजितकुमार शर्माले भने, ‘नेपाल यस्तो देश हो जहाँ रगतको किनबेच हुँदैन, रगतको सेवा शुल्क र जाँच परीक्षणमा लाग्ने शुल्क मात्र लिएर विरामी एवम् घाइतेलाई रगत उपलब्ध गराईन्छ ।’ रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झनाले रक्तदान जस्तो महत्वपूर्ण मानवीय सेवाकार्यमा डुडुवा गाउँपालिकाले देखाएको अग्रता सराहनीय रहेको बताउँदै यो मधेशी समुदायमा रक्तदानको प्रयास पटक पटक भएतापनि सफल भएको खुसी व्यक्त गरे । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य सेवा व्यापक र सहज बनाउनका लागि गाउँपालिकाबाट विशेष प्रयास भईरहेको जानकारी गराए ।

अध्यक्ष चौधरीले नेपालको संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकारबाट जनताको भावना अनुरुप उत्साहपूर्वक काम भइरहेको चर्चा गरे । दिवसका अवसरमा डुडुवा गाउँपालिकामा आयोजित खुला रक्तदान कार्यक्रममा ६२ जना, नेपाल रेडक्रस सोसाईटी बाँके बगिया उपशाखामा ४५ जना र कोहलपुर उपशाखामा ४३ जनाले रक्तदान गरेका छन् ।

 

Womui
Womui